‘मेड इन नेपाल एक्स्पो’ सुरु, उद्योगमन्त्री भन्छन्– नेपालमा सियो पनि बन्दैन भन्नेहरु गलत हुन्

Advertisement

ललितपुर । सानेपाको होटल गार्डेनमा शुक्रबारबाट सातौँ ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ । दुई दिने एक्पोको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे ।

यादवले मेड इन नेपाल एक्स्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागि गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्स्पोमार्फत प्रस्तुत गरेको उनले बताए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको बताउँदै यादवले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । उनले भने, ‘युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार छ, गरी पनि रहेको छ, गर्ने तपाईंहरुले नै हो । सरकारले सहजीकरण गर्छ । देशमा व्यवसाय गर्ने वाताबरण छैन भन्ने कहीं कतै सुनिन्छ तर युवाहरुले आफैले केही गर्न सकिन्छ भनेर लाग्नु भएको छ ।’

मन्त्री यादवले केही गरौं भन्नेहरुको आट र हिम्मतलाई सरकारले सम्मान गर्ने बताउँदै केही समस्या भए मन्त्रालयमा बोलाएर पनि छलफल गर्ने बताए । उनले निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार रहेको पनि बताए ।

मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीहरुलाई स्पेश उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । युवा उद्यमीहरु धेरै रहेको भन्दै उनीहरुले उत्पादन गरेका सामग्रीहरुले सहज बजार पाउन सकेको नसकेको बताए ।

उद्यमीहरुले उत्पादित सामग्रीहरुको बजारीकरण गर्न सकोस् र दुई चार पैसा आम्दानी पनि गर्न सकोस् भनेर एक्स्पोको आयोजना गरेका हौं भन्दै पाण्डेले धेरै युवाहरु स्वदेशमा अवसर नपाएको र विदेशिने मोह बढिरहेको अवस्थामा युवा उद्यमीहरुलाई उद्यम गर्न थप प्रोत्साहन होस् भनेर एक्स्पोको आयोजना गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement