दुर्गममा स्वास्थ्य सेवाः चार सय लाभान्वित

Advertisement

बैतडी । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको शिविरमा ८० गर्भवती महिलाको ‘अल्ट्रासाउण्ड’ गरिएको छ भने २७९ ले सामान्य स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा २२ ले प्रयोगशाला र २० जनाले परिवार नियोजन सेवा लिएका छन् ।

दुर्गम क्षेत्रका नागरिक चिकित्सकको सेवा पाउनबाट वञ्चित भएकाले उनीहरुलाई एकै ठाउँमा विभिन्न सेवा प्रदान गर्न गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको प्रमुख भट्टले बताए । प्रत्येक महीनाको एक दिन पालिकाका दुर्गम स्वास्थ्यचौकीमा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

दुर्गममा डाक्टरको सेवा उपलब्ध भएपछि स्थानीय खुशी भएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । शिविरमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रका डा रोसना छुँकालगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

Advertisement

Advertisement

Advertisement