जस्ता जनता उस्तै नेता, अनि देश कसरी उभोँ लाग्छ ?

Advertisement

काठमाडौं । न हामी सही सक्षम मान्छे चुनेर सरकार वा सत्तामा पठाउन सक्छौ, न सक्षम अधिकारीलाई कामको जिम्मा दिन सक्छौं ? अनि काम गरेन भन्दै सरकारलाई धिक्कार्छौं र पुनः निर्वाचन गर्ने अवसर पाउदा तिनै पुरानालाई जिताएर पुरस्कृत गर्दै पठाउछौं । मन्त्री, सचिव, डिजी, प्रोजेक्ट म्यानेजरको जिम्मेदारी दिदा मोलमोलाई गेरर प्रि वा पोष्ट पेड प्रणाली लागू गर्छौं । हामी सबै दोषी हौं । हामी अरूले हैन आफ्नै कर्म अनुसारको नतिजा बेहोरिरहेका र बेहोर्दै छौं । कर्मको नियम सधैं अकाट्य हुन्छ, सदा काल, सबैमा । यसको जस अपजस हाम्रै हुन्छ, अरूको दोष छैन । जस्ता जनता उस्तै नेता, अनि देश कसरी उभोँ लाग्छ ?

जब हरेक पक्ष, तप्का, पेशा, वर्ग, संस्थामा कुराजनीति हावी हुन्छ, त्यसको अर्थ सबै ठॉउ भ्रष्टताको चुलीमा पुगेको हुन्छ । जब सबै ठाउमा भ्रष्टता व्याप्त हुन्छ तब समाजरूपी शरीरमा कडा सुगर, उच्च ब्लडप्रेशर र बेचैन दमले गॉजेको मानिन्छ । यस्तोमा डाक्टरलाई रोगीको उपचार गर्न असंभवप्रायः हुन्छ । कडा उपचार गर्यो कि रोगी मर्छ , रोगी न मर्न चाहन्छ, न आनन्दले जिउन सक्छ, न उपचार नै हुन्छ । यो मुलुकको अहिलेको फसाद यही हो । मुलुकको शासकीय उपचारमा ईनोभेशन(अभिनव) को टड्कारो खॉचो छ ।

विज्ञान वा प्रविधि वा साहित्यमा निरन्तर सोधखोज नयॉ नयॉ आविष्कार भैरहेका छन्, हजारौं हजार बैज्ञानिक प्राविधिज्ञले निरन्तर योगदान गरिरहेका छन् र त्यसको मानवजातिले लाभ पनि लिईरहेका छन् । तर नेपालको राजनीतिशास्त्र वा शासन शास्त्रमा के कति खोज आविस्कार हुदैछन् वा भएको छ र जनताले राजनीतिशास्त्रका विद्वान वा विज्ञबाट के कति लाभ पाईरहेका होलान्, जान्न पाईएको छैन, सकिएन।

नेपालको राजनीतिक संगठनको मोडस ओपरान्डी(कार्यप्रणाली( अन्धभक्त कार्यकर्ता र तिनीमार्फत प्रतिबद्ध अन्ध मतदाता बिकसित गर्दै जाने हुन पुगेको छर्लंग छ । हाम्रो लोकतन्त्र कस्तो हुन पुग्यो जहॉ भ्रष्ट, डन वा अपराधी चुनावमा उठे भने धनि, पढेलेखेका होस् कि गवॉर वा गरिबले तिनलाई नै जिताउछन् भनेर डराउनु पर्ने भएको छ । जनता जनार्दन हो र लोकतन्त्रको आत्मा सचेत नागरिक हो भन्ने मान्यता राख्ने हो भने नेपाली समाजिक चरित्र लोकतान्त्रिक होईन रहेछ भन्नुपर्ने भयो । समाज अलोकतान्त्रिक तर राजनीति लोकतान्त्रिक हुने बीच मेल कसरी हुन्छ र मुलुक अगाडी बढोस् त। राजनीतिका पंडित भनाउदाहरूले पोष्टमर्टम मात्रै गर्ने कि अभिवन पनि गर्नेरु केही त गर्नुपर्यो नि ।-लेखक नेपाल सरकारका पूर्व सचिव हुन् ।

Advertisement

Advertisement

Advertisement