गढीमाई मन्दिर क्षेत्रको विकासका लागि दुई करोडको डीपीआर तयार

Advertisement

वीरगञ्ज । भारतीय सीमासँग जोडिएको बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपीठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि गढीमाई नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ ।

नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्य भागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी दिनुभयो । सो क्षेत्रको ऊर्जा, खानेपानी, बाटोघाटो जस्ता पूर्वाधारको विकास गर्न नगरपालिकाले डिपिआरसमेत तयार गरेको बताइएको छ ।

करीब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई क्षेत्रमा प्रत्येक पाँच–पाँच वर्षमा धार्मिक मेला लाग्ने गरेको छ जहाँ नेपाललगायत भारतबाट लाखौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन् । दर्शनार्थीको सुविधालाई ध्यानमा राखी नगरपालिकाले सो क्षेत्रमा बासस्थान, खानेपानी, शौचालय लगायतका व्यवस्था गरेको छ ।

विश्वमा सबभन्दा धेरै बलि दिने गढीमाई विश्वको सबभन्दा ठूलो मेला रहेको छ । सो मन्दिरका ११औँ पुस्ताका पुजारीका रुपमा शिव चौधरी रहेका छन् । सो क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न नगरपालिका कटिबद्ध रहेकाले यसमा प्रदेश सरकार र सङ्घीय सरकारको सहभागिता हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । सो मेला असोजदेखि शुरु भई मङ्सिरसम्म रहने गरेको गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement