बजार अनुगमनको चेम्बरद्धारा विरोध, चाडपर्वको बेला मात्रै गर्न नहुने तर्क

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पछिल्लो समयमा मूल्यवृद्धि भएको दावी गर्दै कारोबार मूल्यलाई मान्यता दिन सुझाव दिएको छ ।

यसबाट मूल्यवृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने चेम्वरको तर्क छ । यसका साथै अधिक भसार मूल्याङ्कन, अधिक भन्सार दरवन्दी, कृषिजन्य वस्तुहरुको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकोले सो अन्त्य गरिनुपर्ने उसको भनाई छ ।

बजार अनुगमन चाडपर्बको बेलामा मात्र नभई नियमित प्रक्रियाको रुपमा हुनुपर्ने भन्दै चेम्बरले अनियमित बजार अनुगमनले आपूर्ति व्यवस्थापनमा थप जटिलता ल्याएको तर्क गरेको छ ।

हालै बजेट वक्तब्यमार्फत ल्याइएको भीसीटीएस अनिवार्य प्यान नम्बरलगायत विविध कारणले गर्दा त्यसको नतिजास्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको देखिन्छ भन्दै चेम्बर अफ कमर्शको विज्ञप्तिमा आम उपभोक्तालाई प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नुपूर्व गहिरो अध्ययन नहुँदा मुलुकवासीको सबैभन्दा ठूलो चाड दशैंको अवसरमा समस्या व्यहोर्नु परेको उल्लेख गरेको छ । बजार अनुगमन एकद्धार प्रणालीबाट मात्र हुनुपर्ने चेम्बरको तर्क छ ।

ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा ट्राफिक जामको कारण छ चक्केभन्दा ठूला ट्रकहरु काठमाडौं प्रवेशमा रोक लगाईएबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भएर बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने अवस्था आएको भन्दै चेम्बरले हालको अवस्थालाई ध्यान दिई साँझ ६ बजेपछि त्यस्ता ढुवानीका साधनहरुलाई काठमाडौं प्रवेशमा व्यवस्था मिलाउनुपर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement