खोटाङमा ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावतमा सास्ती

Advertisement

खोटाङ । अविरल वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा दशैँ–तिहार मान्न आवतजावत गर्नेलाई सास्ती भएको छ । हप्ता दिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका कुनै पनि ग्रामीण सडकमा अहिले सवारी साधन चल्न सकेका छैनन् ।

वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । “जिल्लाका सबै ग्रामीण सडक कच्ची अवस्थामा छन्”, उनले भने, “वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा सबैभन्दा बढी दशैँ–तिहार मान्न आवतजावत गर्नेलाई सास्ती भएको छ ।”

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–निर्मलीडाँडा–चखेवाभञ्ज्याङ सडकखण्ड पनि अहिले अवरुद्ध छ । जिल्ला प्रशासन कार्यालयले दिक्तेल–निर्मलीडाँडा–चखेवाभञ्ज्याङ सडकलाई चालू अवस्थामा राख्न ठेकेदारलाई निर्देशन दिए पनि कार्यान्वयन भएको छैन । शहरबाट गाउँघरमा पुग्ने सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि दशैँ मनाउन घर फर्कने स्थानीयवासी घण्टौँ पैदलयात्रा गर्न बाध्य छन् । अहिले दिक्तेल–काठमाडौँ र दिक्तेल–इटहरी सडकमा मात्र सवारी साधन सञ्चालन भइरहेका यातायात व्यवसायीले बताएका छन् ।

यातायात सेवा अवरुद्ध हुँदा दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको छ । तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकसमेत अवरुद्ध भएकाले दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा तीन विमानस्थल रहे पनि अहिले दुई मात्र सञ्चालनमा छन् । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित थामखर्क र रावाबेँसी गाउँपालिका–३ स्थित लामीडाँडा विमानस्थल चालू अवस्थामा रहेका जनाइएको छ ।

प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट सबैभन्दा नजिक पर्ने खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थल पहिराका कारण अवरुद्ध छ । विसं २०७५ जेठ १ गते राति परेको भारी वर्षाका कारण विमानस्थलको तल्लो भागमा पहिरोले क्षति गर्दा १६ महीनादेखि अवरुद्ध बनेको हो । धावनमार्गको किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०/१५ मिटर डिल भासिनुका साथै फालिएको माटो बगाएको छ । भलबाढीका कारण क्षतिग्रस्त विमानस्थल मर्मतको काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement