बलात्कार प्रकरणमा मुछिएका महराले आजै राजीनामा दिँदै, सत्तारुढ शीर्ष नेताहरुको जरुरी बैठक बस्दै

Advertisement

काठमाडौं । बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले आज राजीनामा दिने भएका छन् । उनले ३ बजे राजीनामा दिने उनी सम्वद्ध दल नेकपाले जनाएको छ । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेसँगै उनलाई कारवाही गर्न चौतर्फी दबाब बढेपछि महरा राजीनामा दिन बाध्य हुँदैछन् ।

महराको बलात्कार प्रकरणकै विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शीर्ष नेताहरुले नै राजीनामा दिन सल्लाह दिएपछि महरा त्यसका लागि बाध्य भएका हुन् । राजीनामा नदिए महाभियोग सामना गराउनुपर्ने परिस्थिति आउने भन्दै उनीहरुले आजै राजीनामा दिन महरालाई सल्लाह दिएका हुन् ।

यसै विषयमा आज बिहानै प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेटेर छलफल गरेका थिए । अहिले पुनः पार्टीका अन्य शीर्ष नेताहरुलाई बोलाएर बालुवाटारमा बैठक सुरु गरिएको हो । दिउसै रक्सीले मात्तिएका महराले आफ्नै सचिवालयकी कर्मचारी डेरा गरी बसेको कोटेश्वरस्थित घरमा गई उनलाई बलात्कार गरेको पीडितको भनाई छ ।

उनले आफ्नो श्रीमान भएको बेलामा मात्रै आउन आग्रह गर्दा पनि अटेर गर्दै आएर रक्सी खान दबाब दिएको र खाएपछि जबरजस्ती अभद्र व्यवहार गरेको भन्दै घट्नालगत्तै प्रहरीलाई समेत खबर गरेको बताएकी छन् । प्रहरीले घट्नास्थलको निरीक्षण गरी तस्विरहरुसमेत लिएर गएको पीडितले बताएकी छन् ।

घट्नापछि यस विषयलाई लुकाउन महराले पटक पटक पीडितलाई दबाब दिएको सार्वजनिक भिडियोमा समेत देखिन्छ । तर उनले आफ्ना प्रेस सल्लाहकारलाई सोमबार विज्ञप्ति जारी गर्न लगाएर घट्ना असत्य भएको र आफ्नो चरित्र हत्या गर्न खोजिएको जिकिर गरेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार महराले आफूमाथिको आरोपको खण्डन गरे पनि उनी हतास अवस्थामा रहेको र के गर्ने ? भनेर परामर्श गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement