औषधि खरीदका लागि बजेट नहुँदा समस्या

Advertisement

भद्रपुर । झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन् । सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी बिरामी हुने गरेका छन् ।

कारागारमा दमका रोगी मुटुरोगी एचआइभीका बिरामी पनि छन् । यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालू आर्थिक वर्षमा  १३ लाख मात्र बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाइ छ । “यो बजेटले छ महीना पनि धान्दैन”, उनले भने, “साँघुरो बसाइँ, फोहरमैलालगायतका कारण उनीहरु बिरामी नभएको दिन नै हुँदैन ।

उनले गत वर्ष सरकारले  १८ लाख बजेट विनियोजन गरे पनि खर्च २० लाख भएको बताए । चालू आव २०७६/७७ मा पठाएको १३ लाख खर्चबाट गत वर्षको दुई लाख औषधिको बक्यौता तिरेको र बाँकी रहेको ११ लाखले मुस्किले छ महीना मात्र पुग्ने उनले जानकारी दिए ।

कैदीबन्दीमा प्रायःजसो छाला र भाइरल फिबरको समस्या भएको बताउँदै उनले भने, “दुई सय बढीमा यो समस्या थियो, स्वास्थ्य कार्यालय झापा, भद्रपुर नगरपालिकाको औषधि सहयोग र ओमसाइ पाथीभरा अस्पतालको प्र्राविधिक सहयोगमा केही न्यूनीकरण भएको छ । विभिन्न परिबन्दमा परेर कैदी जीवन बिताइरहेकालाई पाथीभरा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले महीनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement