महिला नै महिलाका दुश्मन ! पीडितमाथि नै महिला साँसदहरुको आशंका र आरोप

Advertisement

काठमाडौँ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए । महराको निजी सचिवालयले विज्ञप्ति जारी गरेर खण्डन गर्न खोजे पनि थेग्न नसकेपछि अन्ततः उनले सभामुख पदबाटै राजीनामा दिए ।

‘पीडित’ महिला हुनुका साथै घटनाको ४८ घण्टा नबित्दै उनको बोली फेरिँदासमेत महरा आबद्ध दल नेकपाका महिला सांसदहरू कुरा चपाइरहेका छन् । प्रतिपक्षी दलका महिला सांसदहरू पनि मौनप्रायः छन् ।

संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधिसभामा एक तिहाइ अर्थात् १ सय १२ जना महिला सांसद छन् । महिला सांसदहरूले महराको राजीनामालाई सकारात्मक बताए पनि कतिपयले बचाउ गर्न खोजेका छन् ।

सबैले चासोपूर्वक हेरेको यो विषयमा नेकपाभित्र प्रभावशाली मानिएका महिला सांसदहरूले सामाजिक सञ्जालमा प्रतिक्रियासमेत दिएका छैनन् ।

सत्तारूढ नेकपाकी सांसद गंगा चौधरीले दसैं मनाउन घर (दाङ) गइसकेकाले यस विषयमा प्रस्ट बुझ्न नपाएको टेलिफोनमा बताइन् । ‘साथीहरूले फोन सम्पर्कमार्फत थाहा दिँदा पत्याउनै सकिनँ, संसद्मा शालीन देखिने अभिभावक मान्छेलाई महिलाले फसाएकी हुन्,’ उनले भनिन्, ‘ती महिलालाई म चिन्छु, बोलेको भेउ नपाउने खालकी हुन् । डिप्रेसनको औषधि खाइरहेकी छन् । एकपल्ट मर्न खोजेकी पनि हो, नपत्याए संसद्का स्वास्थ्यकर्मीहरूलाई सोध्नुहोस्,’ उनले भनिन् । उनले आफूले पनि लामो समयसम्म ‘एनजीओ’ मा रहेर महिला अधिकारको सवालमा वकालत गरेको सुनाउँदै महिला हो भन्दैमा महिला अधिकारको दुरुपयोग गर्न नमिल्ने बताइन् । उनले घटनाको विषयमा सत्यतथ्य भने छानबिन हुनुपर्ने बताइन् ।

नेकपाकी अर्की सांसद आशाकुमारी विकले संसद् सचिवालयमा स्वास्थ्य जाँचका बेला पीडित भनिएकी महिलासँग देखभेट भएको तर विस्तृत जानकारी नभएको बताइन् । ‘घटनाक्रमबाट को सही, को गलत छुट्याउन सकिँदैन,’ उनले भनिन्, ‘सम्माननीय पदमा रहेको मान्छेले त्यसरी गर्न हुँदैन थियो, महिलाले पनि थरीथरी बोल्न नहुने थियो ।’ उनले पनि निष्पक्ष छानबिन हुनुपर्ने बताइन् ।

संघीय समाजवादी फोरम नेपालकी सांसद रेनुकुमारी यादवले सभामुख महरामाथि यस्तो आरोप लागेको सुन्दा आश्चर्यचकित भएको बताइन् । ‘ती महिला गलत हो कि सभामुख, म भन्न सक्दिनँ । सभामुखले एकैचोटि गएर दुर्व्यवहार गर्नुभएन होला,’ उनले भनिन्, ‘पहिलेदेखि चिनजान हो भने अहिले मात्रै किन यस्तो कुरा निकालियो ?’ उनले आरोपप्रत्यारोप गरेर समाजलाई दुःखी बनाउन नहुने बताइन् । ‘महिलाको विषय भएर सडकमै उत्रिनुपर्छ भन्ने छैन, सरकार छ, छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भनिन् ।

राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले पीडित भनिएकी महिलाबारे थरीथरीका भनाइ आइरहेकाले के सही के गलत बुझ्नै गाह्रो भइरहेको बताइन् । ‘पीडित भनिएकी महिला पहिले प्रस्ट हुनुपर्‍यो, महिला सांसदको सहयोग चाहिएको छ भने हामी तयार छौं,’ उनले भनिन्, ‘महिलाको विषय महिलाले नै बोल्नुपर्छ भन्ने होइन, पुरुषले पनि बोल्नुपर्‍यो, सही–गलत निष्पक्ष छानबिन हुनुपर्‍यो ।’

यस घटनाका सम्बन्धमा नेकपाकी सांसद विन्दा पाण्डेले मंगलबार ट्वीट गर्दै आरोप नै अपराध प्रमाणित हुनु होइन भनेकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘तर, आरोपमा संलग्न पक्षले नागरिक सरह छानबिनका लागि सहज भइदिनु र राज्यको निकायले कानुनतः प्रक्रिया अगाडि बढाउनु कानुनी राज्यको आभास दिनु पनि हो । जति ठूलो पद, त्यति धेरै जिम्मेवारी कानुनी मान्यता नै हो । तथ्यगत–निष्पक्ष छानबिन पहिलो सर्त हो ।’

पीडित भनिएकी महिलाका अनुसार आइतबार साँझ महराले यौन दुर्व्यवहार गरेपछि उनले करिब ९ बजेतिर प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि पूर्वसभामुख ओनसरी घर्ती, नेकपाकी सांसद पम्फा भुसाल र नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई फोनबाट जानकारी गराएकी थिइन् । घर्ती र भुसालले चासो नदिएको उनको भनाइ थियो । कान्तिपुरले प्रयास गरे पनि घर्ती र भुसाल सम्पर्कमा आउन चाहेनन् । रेग्मीले भने ती महिलाले सहयोग माग्दै फोन गरेको बताइन् । ‘आधारातमा फोन गरेर रुँदै बलात्कार भयो, न्याय चाहियो भनिन्, मैले केही मिडियालाई जानकारी दिएकी थिएँ,’ उनले भनिन्, ‘तर भोलिपल्टै भनाइ फेरिन्, कसले बाध्यता सिर्जना गर्‍यो । महरा र महिलाबारे दूधको दूध पानीको पानी छुट्याउनुपर्‍यो ।’

ती महिलाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पनि घटना भएकै रात म्यासेज गरेर जानकारी गराएको बताएकी थिइन् । उपसभामुख तुम्बाहाङ्फेले भने ती महिलाले सम्पर्क नगरेको र उनीबारे जानकार पनि नभएको जवाफ दिइन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement