दमकमा चिनियाँ लगानीमा मैत्री औद्योगिक पार्क बन्ने, समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा चीन-नेपाल मैत्री औद्योगिक पार्क बन्ने भएको छ । उक्त परियोजनाका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालिका अध्यक्ष गोबिन्दबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

उक्त परियोजना लासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन जीङ पीङ जोइन्ट क्रियशन कन्स्ट्रक्शन प्रोजेक्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (जेपीजेसीसीपीडी) को लगानी रहने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ । चिनियाँ लगानीमा निर्माण गर्न लागेको त्यस पार्कको नाम ‘चाइना–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

सरकारले सात वटै प्रदेशमा ‘औद्योगिक पार्क’ र सबै स्थानीय तहमा ‘औद्योगिक ग्राम’ बनाउने गरी आवश्यक नीतिगत व्यवस्था पनि गरिसकेको छ । पहिलो चरणको काम यही असोज महिनादेखि थालिने बताइएको छ । पहिलो चरणको कामपछि थप जग्गामा अरू कामका लागि तीन खर्ब रुपियाँ लगानी रहने अनुमान गरिएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार दमक नगरपालिकाको दक्षिणमा वार्ड नं १०, कमल गाउँपालिका वार्ड नं ७ तथा गौरादह नगरपालिका वार्ड नं ५ को केही भाग जोडेर प्रस्तावित पार्क बन्न लागेको हो ।

औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने छन् । अनुसार चीनमा भएका सवारीसाधन, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरू नेपाल आउनेछन् ।

दश वर्ष पार्क निर्माणको अवधि र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्नेछ । पार्क निर्माणका लागि उपलब्ध गराइएको जमिनबाहेक नेपालको थप लगानी नहुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement