भारतीय सीमानामा दशैं मनाउन फर्किनेहरु यस बर्ष कम लुटिए

Advertisement

भैरहवा । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको बेलहिया सीमानाकामा घुइँचो लागेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली बेलहिया नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

दसैं, तिहार र छठको आगमनसँगै सीमा क्षेत्रमा चाडपर्वको चहल पहल बढेको हो । केही दिनदेखि सुनौली नाका हुँदै भारतलगायत तेस्रो मुलुकमा रोजगारी गरी नेपाल फर्किनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । रोजगारीका लागि भारतका विभिन्न ठाँउमा रहेका नेपाली दसैं लागेसँगै टिका, जमरा तथा ठूलाबडाको आशिर्वाद थाप्न नेपाल फर्किएका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक कमल बेल्वासेले नेपाल भारत मैत्री बस तथा भारतीय सरकारी बसमा आउने नेपालीको सङ्ख्या बढ्दो मात्रामा भएको बताए । उनले भारत लगायतका देशबाट आउने नेपालीहरु पछिल्लो समय सचेत हुने गरेका कारण पनि लुटपाटका घटनामा कमी आएको बताए ।

अर्कोतर्फ चाडपर्वका लागि सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको पनि घुइँचो लाग्ने गरेको छ । घर फर्किने र सामान किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले सीमा नाकामा चहलपहल बढेको हो । किनमेल गर्न आउने नेपाली उपभोक्ताका कारण बेलहियामा घण्टौं जाम लाग्ने गरेको छ । बेलहियामा भारतीय बजार सुनौलीबाट सामान किनेर फर्किनेको लाम लाग्ने गरेको छ ।

भारतको दिल्ली, मुम्बई, काश्मीर, हरियाणा, भोपाल, कानपुर, लखनऊ, मद्रास, केरला, पञ्जाब, राजस्थान, इलाहाबादलगायत सहरमा रोजगारी गरी बालबच्चा र परिवारका साथ दसैं मनाउन सुनौली नाका हुँदै घर आउने गरेका छन्। रोजगारी गर्ने मात्रै नभई भारतका विभिन्न स्थानमा अध्ययनरत नेपाली विद्यार्थीको आगमन पनि अहिले बढ्दो छ ।

चाडपर्वका बेला भित्रिएका यात्रुलाई समस्या हुन नदिन र सहयोग गर्न नेपाल–भारत सीमा नाकाको दशगजामा सशस्त्र प्रहरीको सहकार्यमा संयुक्त सहायता कक्ष तथा भैरहवा भन्सार कार्यालय परिसर अगाडि नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

चोरी, पाकेटमार, नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक भाडा लिने, यात्रु मिलाइदिएबापत कमिसन खाने व्यक्ति सक्रिय हुने गरेकाले यसलाई रोक्न सहायता कक्ष स्थापना गरिएको हो ।

विगतमा भारतबाट आउने क्रममा विभिन्न ठाँउमा लुटपाट लगाएतका घटना हुने गरेका भए पनि यसपटक भने त्यस्ता कुनै पनि समस्या झेल्न नपरेको भारतबाट फर्किँदै गरेका नेपालीहरुले बताएका छन् । भारतको दिल्लीबाट दसैंका लागि टीका लगाउन घर फर्कँदै गरेका पोखराका ऋद्धि श्रेष्ठले आफू सहज तरिकाले नेपाल आएको बताए । उनले विगतमा लुटपाटका घटना हुने गरेको सुने पनि यस पटक भने त्यस्ता कुनै घटना घटेको थाहा नपाएको बताए ।

रूपन्देहीका अधिकांश स्थान र पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासीको सुनवल, परासी, बर्दघाटदेखि दसैंका लागि सामान खरिद गर्न सुनौली जाने नेपाली उपभोक्ता हजारौंको संख्यामा छन् । साबुन, सरफ, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसलगायत खाद्यान्न, खाने तेल, घिउ, कुर्ता सलवार, साडी र अन्य श्रृंगारका सामान भारतीय बजारबाट फर्कँदा नेपाली उपभोक्ताले ल्याउने गरेका छन् ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement