बलात्कार प्रकरणमा मुछिएका निवर्तमान सभामुख महरा पक्राउ, दशैंमा महरालाई दशा लाग्यो

Advertisement

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका महरालाई अहिले सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिएको जनाइएको छ । गएको साता आइतबार उनी मदिरा र काजु तथा बदामसहित महिला कर्मचारी रोशनी शाही बस्दै आएको कोटेश्वरस्थित निवासमा पुगेका पुष्टि भइसकेको छ । पीडित भनिएकी शाहीले आफूमाथि मदिरा पिउन दबाब दिएको र पिएपछि बलात्कार प्रयास गरेको बताउँदै आएकी छन् ।

शाहीले प्रहरीले महराविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो । बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले कालो रंगको स्कोर्पियो गाडीमा महरालाई नियन्त्रणमा लिएर थुनारामा राखेको हो ।

महराले यसअघि नै सभामुखबाट राजीनामा दिइसकेका छन् भने साँसदबाट पनि राजीनामा गराउने प्रयास भइरहेको छ । प्रहरीले नै आवश्यक छानविन र कारवाहीका लागि भन्दै कार्यबहाक सभामुखसँग साँसद पदबाट निलम्बन गर्न आग्रह गर्ने तयारी गरिरहेको छ ।

महरालाई पक्राउ गर्नुअघि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। अब उनीसँग बयान लिने र मुद्दाका लागि आवश्यक प्रक्रिया अघि बढ्ने प्रहरीले जानकारी दिएको छ । प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको फोरेन्सिक जाँच गरिसकेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement