नेपाल भ्रमण वर्ष अघि नै चीनसँग सीमाना जोडिएको कोरला नाका खुलाउन सरकारलाई निर्देशन

Advertisement

गलेश्वर । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । सभापति खड्काले पुलको डिजाइनसमेत नभएका कारण सरकार कोरला नाका खुलाउन गम्भीर नभएको हो कि भन्ने आशङ्का बढेको बताए ।

समितिले सो नाकासँग जोडिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न पनि सरकारलाई निर्देश गरेको छ । त्यसैगरी सो सडकखण्ड निर्माणका लागि विष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणका क्रममा समितिका सभापति खड्काले बताए ।

राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ रहेको छ । संसदीय समितिले सो सडकखण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको कामसमेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ । समितिले एक हप्ता अघि बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement