लगानीको बाताबरणमा सुधार आएको ढकालको दावी

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानून तथा नीतिगत व्यवस्थाका कारण लगानीको वातावरणमा सुधार भइरहेको दावी गरेका छन् ।

यस्ता कानूनहरुका कारण पछिल्लो समयमा देशमा रोजगारदाता एवं श्रमिकबीचको सम्बन्ध राम्रो हुँदै गएको र यसले दिगो औद्योगिक विकास र श्रम सम्बन्धमा सकारात्मक प्रभाव पार्ने उनको तर्क छ ।

नेदरल्याण्डको हेगमा मङ्गलबार आयोजित श्रम तथा सामाजिक संवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ढकालले रोजगारदाताहरु, श्रमिक, ट्रेड युनियन र नेपाल सरकारसँगको लामो तथा आवश्यक परामर्शबाट प्राप्त भएका यी नीति तथा कानूनहरुले देशमा रोजगारदाताहरुका साथै श्रमिक र ट्रेड युनियन बीचको सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउन सहयोग पुर्याएको तर्क प्रस्तुत गरे ।

दशकभन्दा लामो द्वन्द्वपछि जारी भएको नयाँ संविधान र शान्ति प्रक्रियासँगै नेपालले देशमा आर्थिक विकासका प्रयासहरु थालेको र नेपाली उद्यमीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष पहलमा श्रमका साथै सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनहरु प्राप्त गरेको भन्दै उनले हाल नेपालमा करीब दुई तिहाई बहुमत समर्थनसहितको स्थिर सरकार बनेकोले औद्योगिक विकास र लगानीको वातावरण सिर्जना भएको जिकिर गरे ।

प्राकृतिक स्रोत र सम्पदाले सम्पन्न देश नेपालमा पर्यटन, जलविद्युत्, कृषि उद्यमशीलता, पूर्वाधार विकास लगायतका कैयौँ क्षेत्रहरुमा प्रचुर सम्भावनाहरु रहेको ढकालले बताए । उनले नेपालमा राजनीतिक स्थिरतासँगै लगानीको वातावरणमा सकारात्मक सुधार हुँदै गएको चर्चा गर्दै विश्वका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न पनि आग्रह गरे ।

नेपालको उद्योग क्षेत्रको इतिहास त्यति लामो नभएको र नेपालमा विसं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनासँगै निजी क्षेत्रको विकास, देशले बहुदलीय राजनीतिक व्यवस्था अँगालेसँगै आर्थिक विकासमा निजी क्षेत्रको प्रतिस्पर्धालाई आत्मसात गरिएको प्रसङ्ग ढकालले कोट्याए ।

Advertisement

Advertisement

Advertisement