राष्ट्रिय प्रसारण प्रणालीमा २५ मेगावाट बिजुली जोडियो

Advertisement

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीमा काबेली बी–१ जलविद्युत् आयोजनाको २५ मेगावाट बिजुली जोडिएको छ । अरुण काबेली पावर कम्पनीले निर्माण गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।

गत १६ असोजदेखि आयोजनाको विद्युत् प्रणालीमा जोडिएको परीयोजना निर्देशक रमेश नेउपानेले बताए । उनले भने ‘हाल परीक्षण उत्पादन भइरहेको छ, अबको दुई सातापछि आयोजनाबाट व्यापारिक विद्युत् उत्पादन सुरु हुन्छ, परीक्षण अवधिभर भने आयोजनाबाट उत्पादन हुने विजुली नेपाल विद्युत् प्राधिकरणले निःशुल्क पाउनेछ’ ।

आयोजनाबाट उत्पादन भएको विद्युत् प्राधिकरणको प्राविधिक टोलीले काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडेको छ । प्रसारण लाइनको तेस्रो खण्ड तयार नहुँदा विद्युत् उत्पादन ढिलो भएको कम्पनीले दाबी गर्दै आएको थियो । प्रसारण लाइनकै कारणले गर्दा तालिकाभन्दा एक वर्ष ढिलो विद्युत् उत्पादन भएको कम्पनीले जनाएको छ ।

निर्माण सुरु गर्दा ४ अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजना सम्पन्न गर्न करिब ५ अर्ब रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै भारतबाट आयात हुने विद्युत् परिमाण कम हुने र पूर्वक्षेत्रको वितरण प्रणालीमा सुधार हुने कम्पनीले दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement