एक दर्जनभन्दा बढी कम्पनीको साढे चार अर्बको सेयर निष्कासनमा आउँदै

Advertisement

काठमाडौं  । विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । तीमध्ये १३ वटा कम्पनीले सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् भने एक जलविद्युत् कम्पनीले अनुमति पनि पाइसकेको छ । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउने छन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ कानुनी व्यवस्था छ ।

बोर्डको तथ्यांकअनुसार १४ कम्पनीले कुल ४ अर्ब ५१ करोड ६६ लाख ७३ हजार ६ सय रुपियाँ बराबरको ४ करोड ५१ लाख ६६ हजार ७ सय ३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । तीमध्ये शिवश्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख १४ हजार रुपियाँका ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासनका लागि यही असोज १ मा बोर्डबाट अनुमति पाइसकेको छ ।

सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् कम्पनी छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा अनुमति दिइसकेका छन् ।

सेयर निष्कासनका लागि आवेदन पर्खाइमा रहेका कम्पनीमा ९ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासीका र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका बोर्डले जनाएको छ । सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), सीईडीबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, शिवम् पावर (स्थानीय बासिन्दा र सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), लिबर्टी इनर्जी कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), युनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), संगटी हाइड्रो इनर्जी, मैलुङखोला जलविद्युत् (सर्वसाधारण) र माउन्टेन इनर्जी नेपाल (स्थानीय बासिन्दा र सर्वसाधारण) का लागि प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन् ।

अन्य क्षेत्रका नेपाल पुनर्बिमा, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आवेदन पनि बोर्डमा दर्ता भएको छ । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्यता पनि बढ्दै गएको छ ।

हाल सेयर बजारमा ३२ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो वर्ष यस्तो संख्या बढेर ५० हाराहारीमा पुग्ने देखिन्छ । सेयर निष्कासन गरेसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालू वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जन बढी पुग्ने जानकारहरू बताउँछन् ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहकोहिस्सा थपिने छ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयवासीलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement