सिरहाको कमला नदीको बगरमा फेला परेको सकेट बम निष्क्रिय

Advertisement

लहान । सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।

बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ । कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए । बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताए ।

विस्फोटक पदार्थ पटकासहित दुई युवक पक्राउ

विस्फोट पदार्थ पटकासहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका–१९ बाट करीब रु २० हजार मूल्य बराबरको विस्फोटक पदार्थ पटकासहित सिरहाको गोलबजार नगरपालिका–८ निवासी २१ वर्षीय शम्भू साह र २४ वर्षीय रुबेल मण्डललाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट स६प १७९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई शङ्का लागेर जाँच गर्दा ती विस्फोट पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकामाथि आवश्यक कारवाही अघि बढाएको प्रहरीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement