आज पनि अदालत बन्द भएकाले महरालाई भोलि मात्र अदालतमा उपस्थित गराइने

Advertisement

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार मात्र अदालतमा उपस्थित गराइने भएको छ । आज अदालत बन्द हुने भएका कारण मंगलबार (भोलि)मात्र महरालाई अदालतमा उपस्थित गराइने भएको हो ।

यसअघि सोमबार (आज) महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी थियो । पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ । पूर्व प्रधानन्यायाधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो ।

निवर्तमान सभामुख महरालाई असोज १९ गते आइतबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो । बीचमा दशैंको सार्वजनिक विदा परेका कारण उनलाई अदालत उपस्थित गराइएको थिएन । दशै विदा सकिएपछि आज अदालत उपस्थित गराइने भनिएकोमा आज अदालत बन्द हुने भएपछि उनलाई मंगलबारमात्र अदालत उपस्थित गराइने स्रोतले जनाएको छ ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ । महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार थालिएको छ । नर्भिकमै रहेका महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने छ ।

Advertisement

Advertisement

Advertisement