हेटौंडाको वडा कार्यालयमा आगजनी, पाँच जना पक्राउ

Advertisement

हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका-५ वडा कार्यालयमा भएको आगजनीमा संलग्न रहेको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।

सोमबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको भन्दै पाँच जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम सार्वजानिक गरेको छैन ।

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएको छ । पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आगलागीको क्रममा विद्युत मिटर बक्स पड्केको आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

वडा कार्यालयमा भएकोे आगजनीको घटनासँगै मकवानपुरका सुरक्षा प्रमुख थाहा नगर पुगेका छन् । घटनाको बारेमा अध्ययनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेसहितकोे टोली घटनास्थल पुगेको हो ।

घटनाको बारेमा सुक्ष्म नचलिरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको उपरीक्षक सिंहले बताए ।

आगजनीका कारण कार्यालयको कम्प्युटर प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयोजनका सामग्री जलेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement