कुल आचार्य भन्छन्– यसअघि छ पटक चुनाव लड्दा हारिन, आईसीसी अध्यक्षमा पनि हार्दिन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका एक प्रत्यासी कुल आचार्यले आफू यसअघिका संघअन्तर्गतकै छ वटा निर्वाचनमा पराजित नभएको उदाहरण दिँदै संघको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को अध्यक्ष पदमा पनि पराजित नहुने दावी गरेका छन् ।

संघको महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै उनले भने– छ पटक चुनाव लड्दा कुनै पनि चुहाव हारिन, अब पनि हार्दिन । आचार्यले गैरआवासीय नेपाली आन्दोलनमा विभिन्न पद र भूमिकामा रहेर आफूले १२ बर्ष काम गरेको सुनाउँदै संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा र अपनत्व महशुस हुने खालको संस्था निर्माण गर्ने बताए ।

उनले आफू विजयी भएपछि गर्ने कामहरुको १० बुँदे कार्ययोजना पनि सार्वजनिक गरिसकेको सुनाउँदै संघमार्फत गैरआवासीय नेपाली र नेपालीलाई जोड्न आफूहरुको पुँजी र सीप नेपालको विकासमा लगाउने, त्यसका लागि ‘संवृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा अघि सारेको बताए ।

आचार्यले मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि आफूले पसिना फण्डको परिकल्पना गरेको बताउँदै अहिलेको मुख्य समस्या सुरक्षित रोजगारी र कामदारको जीवन रक्षाको विषय भएको बताए । उनले पसिना फण्डको रकम लगानीकर्तालाई समेत प्रतिफल प्राप्त हुनेगरी नेपालमा लगानी गरिने बताए ।

साथै, दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोषको रकम दोब्बर बनाइने, वैदेशिक रोजगारीमा गएकाहरुलाई समस्या बुझ्न हटलाइन सेवा सञ्चालन गर्ने बताए । उनले दोहोरो नागरिकताको आफूहरुको मागलाई निष्कर्षमा पुर्याउँदै त्यसैको आधारमा छुट्टै पासपोर्ट उपलब्ध गराउन पहल गर्ने, गैरआवासीय नेपालीहरुको सम्वन्ध र सम्पर्कलाई प्रयोग गरी वैदेशिक लगानी नेपालमा भित्राउन प्रोत्साहित गर्ने, धेरै मुलुकहरुसँग द्धिपक्षीय लगानी प्रवद्र्धन तथा दोहोरो करमुक्ति सम्झौताका लागि संस्थागत पहल गर्ने, भिजन २०२० एण्ड वियोण्ड योजनालाई चरणवद्धरुपमा कार्यान्वयनमा लैजाने, पर्यटन बर्ष २०२० सफल बनाउन भूमिका निर्वाह गर्ने लगायतका कुराहरु अघि सारेका छन् ।

आचार्यको पत्रकार सम्मेलनमा उनीनिकट उपाध्यक्षका प्रत्यासी नरेन्द्र भाट, केशव पौडेल, मन केसी, रविना थापा, महासचिवकी प्रत्यासी जानकी गुरुङ, कोषाध्यक्षका प्रत्यासी सोम सापकोटाले पनि बोलेका थिए । आचार्य काँग्रेसनिकट मानिन्छ । सत्तारुढ नेकपानिकटबाट कुमार पन्त अध्यक्षमा लड्दैछन् ।

Advertisement

Advertisement

Advertisement