चरम राजनीतिकरण भएको भन्दै उपेन्द्र महतोले गैरआवासीय नेपाली सम्मेलन बहिस्कार गरेको खुलासा

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको महाधिवेशनमा चरम राजनीतिकरण भएको भन्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले बहिस्कार गरेका छन् ।

मंगलबारबाट सुरु भएको सम्मेलनको उद्घाटन कार्यक्रममा महतो अनुपस्थित हुँदै आफ्नो असन्तुष्टि जनाएका हुन् । उनी संघको प्रमुख संरक्षक पनि हुन् । विगतका विश्व तथा अधिकांश क्षेत्रीय सम्मेलनहरुमा सहभागी हुँदै आएका महतो आजको सम्मेलनमा अनुपस्थित हुँदा सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरुबीच गाईंगुईं चलेको थियो ।

उनले विभिन्न सञ्चार माध्यमलाई दिएको प्रतिक्रियामा अस्वभाविक राजनीतिक ध्रुवीकरण गर्दै भातृ संगठन जस्तो बनाउन खोजिएको गुनासो गरेका छन् । महतोले गैरआवासीय नेपाली आन्दोलनमा राजनीति हावी हुनु राम्रो होइन् भन्दै दलहरुकै भातृ संगठनले प्यानल बनाएजसरी चुनावको तयारी गरिएकोप्रति दुखेसो पोखेका छन् ।

महतो संघमा सकेसम्म चुनाव नभई सहमति कायम हुनुपर्छ भन्ने पक्षमा देखिएका छन् । चुनावले प्रतिनिधिहरुबीच राजनीतिक ध्रुविकरण गराउने र संघले आफ्नो लक्ष्य र उद्देश्यअनुसार काम गर्न नसक्ने भन्दै उनले चुनावै गर्ने भए पनि दलगत प्रभावबाट मुक्त हुनुपर्ने बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement