जुरे पहिरोले भत्काएको भोटेकोशी पुनःनिर्माण गर्न सात अर्ब खर्च दावी

Advertisement

मेलम्ची । जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो ।

आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिए । जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भए पनि विसं २०७२ को भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो । भूकम्पमा क्षति भएको आयोजना पुनःनिर्माण शुरु हँुदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पुर्याएको थियो ।

आयोजनाको अहिले हेडबक्सका काम सकिएको र पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिए । “हामी अहिले हेडबक्सको परीक्षणमा छौँ’’, उनले भने, “विद्युत् गृह परीक्षणको प्रक्रियामा छौँ ।’’ असोजभित्र पुनःनिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिए । शुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरू युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

साढे चार वर्षदेखि विद्युत् आयोजना अवरुद्ध हँुदा अर्बौं क्षति भएको आयोजनाले जानकारी दिएको छ । आयोजना पुनःनिर्माणका लागि रु सात अर्ब खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिए । यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जत्तिकै भयो, उनले भने, “क्षति धेरै भयो, लागत पनि बढ्यो ।”

आयोजनाको हेडबक्स, सुरुङ र पेनस्टक पाइपमा समेत क्षति पुगेको र इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाको दावी छ । भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ ।

आयोजना बन्द हुँदा कति क्षति भयो त्यो अहिले भन्न नमिले पनि भूकम्पले मात्रै रु तीन अर्ब बढी क्षति भएको आयोजनाका महाप्रबन्धक स्थापितले बताए । आयोजनाले शुरुमा ३६ मेगावाट मात्रै विद्युत् उत्पादन गरे पनि सन् २०११ मा विद्युत् खरीद सम्झौतापछि ४५ मेगावट क्षमतामा गएको थियो ।

जुरे पहिरोले भोटेकोशी बन्द भए पनि शेयर माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । पछि त्यतिबेलाका प्रमुख तीन पार्टीकै नेतृत्वमा भोटेकोशीविरुद्ध आन्दोलन चर्किएपछि जिल्लावासीलाई छ प्रतिशत शेयर दिन भोटेकोशी तयार भएको थियो । शेयर दिन तयार भए पनि आयोजना पुनः बन्द भएपछि त्यसको प्रक्रिया अघि बढेको छैन । आयोजना पुनः सञ्चालनमा आएपछि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयनमा दबाब दिने स्थानीयवासीले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement