ग्यास्ट्रिक घटाउने नाममा दिइने औषधिले क्यान्सर होला, नखानुसः औषधि व्यवस्था विभाग

Advertisement

काठमाडौँ । औषधि व्यवस्था विभाग (डीडीए)ले उत्पादक र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्य रूपमा ‘ग्यास्ट्रोओसोफेगल रिफ्लक्स’ लगायत अन्य समस्यामा गरिन्छ ।

डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘नाइट्रोसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइलमाइन’ (एनडीएमए) थोरै मात्रामा रहेको र उक्त अशुद्धतालाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले मानिसमा क्यान्सर गराउन सक्ने भनी वर्गीकरण गरेको छ । डीडीएले स्वदेशी उद्योगको हकमा ‘रेनिटिडिन’ उत्पादनको कच्चा पदार्थ र तयारी औषधि पैठारीका हकमा ‘एनडीएम’ अशुद्धता नभएको यकिन गरी आवश्यक व्यवस्था गर्न अनुरोध गरेको छ ।

डीडीएका निर्देशक पानबहादुर क्षेत्रीका अनुसार मुलुकका औषधि उत्पादक र आयातकर्ताले रेनिटिडिन औषधिमा उक्त अशुद्धता छ वा छैन भनेर हेर्नुपर्छ । अमेरिकास्थित ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए)ले डाक्टर र बिरामीलाई केही खास ब्याचको रेनिटिडिन औषधि फिर्ता गर्न भनेको छ । यस्ता केही औषधिमा कम स्तरमा क्यान्सर उत्पन्न गर्न सक्ने एन–नाइट्रासोडिमिथालामाइन (एनडीएमए) देखिएपछि फिर्ता गर्न भनेको हो । यसैबीच एफडीएले डाक्टरहरूलाई बिरामीसँग अन्य उपचारको विकल्पबारे छलफल गर्नसमेत आग्रह गरेको छ । एफडीएले बिरामीलाई आफूले उपयोग गर्ने रेनिटिडिन औषधि बन्द नगर्न सल्लाह दिँदै यसबारे आफ्ना चिकित्सकसँग थप परामर्श गर्न भनेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement