गैरआवासीय नेपाली संघको हिजो अवरुद्ध निर्वाचन सुरु, सुरक्षा व्यवस्थामा कडाई

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमिति चयनका बुधबार अवरुद्ध निर्वाचन आज बिहीबार बिहान १० बजेदेखि सुरु भएको छ । भोटिङ मेसिन बिग्रिएको भन्दै रोकिएको निर्वाचन मतपत्र छपाई गरेर सुरु गरिएको हो ।

भोटिङ बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो । तर भोटिङ मेशिन बनाउने रामलक्ष्मणले भने भोटिङ मेशिनको समस्या नभई व्यवस्थापनको कमजोरीका कारण मतदान स्थगित भएको दावी गरेका छन् । मतदान स्थगितपछि नारावाजी र जुलुस गरिनुका साथै राति तोडफोडसमेत भएको थियो । उक्त घट्नापछि गैरआवासीय नेपाली प्रतिनिधिहरुको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

निर्वाचन समिति सदस्य कुलप्रसाद पाण्डेका अनुसार मतपत्र छपाईको काम भइसकेको बिहान १० बजे सुरु गरेर ३ बजे सक्ने तयारी गरिएको छ । संभावित हुलदंगालाई नियन्त्रण गर्न सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । संघको ४१ पदका लागि ७५ जनाले उम्मेदारी दर्ता गरेका छन् । यस पटक मनोनयन शुल्क ह्वात्त्ै बढाइएकाले उम्मेदवारी कम परेको हो । यस्तो शुल्क एक लाख देखि १० लाख रुपियाँसम्म निर्धारण गरिएको छ ।

संघको नयाँ अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा छन् भने चार उपाध्यक्षका लागि नौ जनाः हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेल प्रतिस्पर्धामा छन् ।

त्यस्तै एक महिला उपाध्यक्ष पदका लागि दुईजनाः सपिला राजभण्डारी र रविना थापाले उम्मेदवारी दिएका छन् भने महासचिव पदका लागि जानकी गुरुङ र हेमराज शर्माको उम्मेदवारी दिएका छन् । दुई सचिव पदमा दीपक ओली, सुष्मा लिम्बू, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, राजेन्द्र शर्मा, विनय अधिकारी उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, एक कोषाध्यक्षका लागि महेश श्रेष्ठ र सुदन थापाले उम्मेदवारी दिएका छन् भने सह कोषाध्यक्षका लागि लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमले उम्मेदवारी दिएका छन् । एक महिला संयोजकका लागि प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु, संगीता मरहठ्ठा शर्मा र जुनु गुरुङले उम्मेदवारी दिएका छन् भने युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्र प्रताप शाह र सुदीप कार्कीले उम्मेदवारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement