पूर्वमाओवादी नेता नै भन्छन्– प्रचण्ड प्रधानमन्त्री हुँदैनन्, ओलीले नै ५ बर्ष चलाउँछन्

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने भन्दै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने संभावना नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार पूर्वमाओवादीका नेतासमेत रहेका उनले त्यस्तो बताएका हुन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भइरहेको बेला शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरे ।

उनले आलो पालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे । शर्माले भने, ‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन् । वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । यसमा कुनै द्धिविधा छैन् ।’

उनले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको बताए । तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निश्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकोले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उनले भने, ‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाई हाम्रा शीर्ष नेताहरुमा आएको छ । तर, यसको निर्णय त प्रधानमन्त्रीज्यूले गर्ने हो । कहिले हुन्छ मलाई थाहा छैन् ।’

शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने पनि बताए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जनाए । शर्माले भने, ‘संविधानमा भएको व्यवस्थाबमोजिम हामी सभामुख र उपसभामुखको निर्वाचन गर्छौं । यो ठूलो विवाद र समस्याको विषय होईन् । सकेसम्म निर्वाचन नहोस भन्ने हाम्रो चाहना छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिकै प्रयत्न गर्नुपर्छ ।’

सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा परिपक्व कुटनीति र व्यवहार प्रस्तुत गरेको तर्क गर्दै उनले सरकारलाई बधाई दिए । शर्माले भने, ‘सरकारले उच्चस्तरीय भ्रमणको लागि परिपक्व व्यवहार देखायो, यो खुशीको कुरा हो । यस प्रकारका उच्चस्रतीय भ्रमण गराउन नेपाल सरकार सक्षम छ भन्ने सन्देश प्रवाह भएको छ ।’

उनले नेपालको विकास र समृद्धिमा चीनले सुरुदेखि नै सहयोग र टेवा पुर्याउँदै आएको पनि सम्झिए । चीनको निःशर्त अनुदानमा नेपालमा भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएपनि पछि यसलाई बेचेको पनि उनले सुनाए । शर्माले भने,‘ हामीले चीनको सहयोगलाई सदुपयोग गर्न सकेनौं भन्नेबारे अहिले प्रश्न उठेको छ । चीनले नेपालमा निर्वाध रुपमा लगानी गर्न चाहेको पनि उनले सुनाए ।

यद्यपी चीनले पनि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएझैं भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारीमा जोड दिएको उनको भनाई छ । शर्माले भने, ‘नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले पनि यो कुरा दोहोर्याउनुभएको छ । चिनियाँ पक्ष अहिले नेपालमा नेपाल–चीन संयुक्त लगानीमा अघि बढ्न चाहन्छ ।’

Advertisement

Advertisement

Advertisement