अछाममा लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा

hydro-energy-jalbidhut

अछाम । अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा तीन सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ । १५ किलोवाट क्षमताको आयोजनाबाट रामारोशनका तीन सय उपभोक्ताले सेवा लिइरहेका परियोजनाका अध्यक्ष लालबहादुर साउँदले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध भएपछि उपभोक्ता मारमा परेको अध्यक्ष साउँदले बताए ।

तत्कालीन अवस्थामा जिल्ला ऊर्जाको प्राविधिक सहयोग र उपभोक्ताको पूर्ण जनश्रमदानमा निर्माण भएको उक्त जलविद्युत् परियोजनाको सेवा अवरुद्ध भएपछि तिहार अन्धकार हुने भन्दै स्थानीय उपभोक्ता चिन्तित बनेका छन् । उपभोक्ताले चाँडोभन्दा चाँडो लघु जलविद्युत् आयोजना मर्मत गरिदिन मागसमेत गरेको गाउँपालिकाका योजना शाखा प्रमुख दलबहादुर साउँदले बताएका छन् ।