घाइते छोरोलाई इट्टाभट्टामा हालेर हत्या गरिएपछि न्याय माग्ने रोक्सानालाई पनि गोली हानी मारियो

roksana

काठमाडौं । मोहम्मद अफ्ताव आलमको गाउँ फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्स्पेक्टर इन्द्र सुवेदी । २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा विस्फोट भयो । घटना के–कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो । उनी घटनास्थलमा पनि पुगिसकेका थिए, तर राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरुवा भयो । आफ्नो इलाकामा भएको भयानक घटनाको अनुसन्धान गर्न नपाई प्रहरी इन्चार्ज राति नै गौर पठाइयो । लगत्तै उनको ठाउँमा इन्स्पेक्टर राजीव बस्नेत गए । तर, बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अनुसन्धान होइन, घटना नै भएको छैन भन्नतर्फ लागे ।

अहिले डिएसपीको रूपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो सरुवा भएकाले घटनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए । ‘म भर्खरै इन्स्पेक्टर भएको थिएँ, त्यो ठाउँमा पनि भर्खरै गएको थिएँ, बम विस्फोट भयो भन्ने हल्ला आइरहेको थियो, स्थिति अन्धाधुन्ध थियो,’ उनले भने, ‘अहिले चर्चामा रहेको घटनास्थलमा म पुगेको थिएँ, त्यहाँ के भएको थियो भनेर राम्ररी बुझ्न बाँकी थियो, राति नै १० बजे जिल्ला सरुवा गरियो । अर्को इन्स्पेक्टरसाप त्यहाँ जानुभयो, त्यसपछिको जानकारी मलाई हुने कुरै भएन ।’

बम विस्फोट गराएर जनता भगाउने र बुथ कब्जा गरेर चुनाव जित्ने योजनाका साथ आलमको निर्देशनमा बन्दै गरेका बम अचानक विस्फोट भएपछि पूरै क्षेत्र थर्किएको स्थानीयहरूको भनाइ छ । भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने २२ वर्षका त्रिलोकप्रताप सिंह पिन्टु र दुबईको रोजगारीबाट भर्खरै आएका २१ वर्षीय वसी अख्तरलाई आलमले जबरजस्ती आफ्नो प्रचारमा लगेका थिए । बम बनाउँदै गरेका अरू थुप्रैसहित यी दुई होनाहार युवा पनि घाइते भएका थिए ।

घाइतेलाई उपचार गर्नुको सट्टा राति नै जिउँदै इँटाभट्टामा हालेर पोलिएको थियो । सबैभन्दा भयानक विषय के छ भने राति १० बजे इन्स्पेक्टरको सरुवा भएको छ, ११ बजे घाइतेहरूलाई ट्र्याक्टरमा हालेर इँट्टाभट्टातर्पm लगिएको छ । अझ प्रत्यक्षदर्शी मसमुल मियाँले भनेका छन्, ‘ट्र्याक्टरलाई प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो ।’ यो दृश्यले प्रहरीको नेतृत्वहरू अनुसन्धान फितलो बनाउन मात्र होइन, घटनामा आफैँ संलग्न भएको देखिन्छ ।

छोराहरू मारिएको भन्दै उजुरी गर्न गएका बाबुआमालाई प्रहरीले उल्टै हप्कीदप्की गरेर पठाएको थियो । मृतकका परिवार काठमाडौं आएपछि अध्ययनका लागि मानवअधिकार टोली घटनास्थलमा गएको थियो । २० दिनपछि पनि प्रहरीले गाउँमा त्यस्तो घटनै नभएको दाबी गरिरहेको थियो । मानवअधिकारवादी टोलीलाई जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी न्यौपानेले पिन्टु र वसीका बाबुआमा नै प्रहरी प्रशासनलाई बदनाम गराउने षड्यन्त्रमा लागेको आरोप लगाएका थिए । ‘घटना भएको छैन, कसैको पनि ज्यान गएको छैन ।

पीडितका नाममा प्रहरी प्रशासनलाई बदनाम गराउने काम भएको छ,’ एसपी न्यौपानेको भनाइ थियो । तर, उनले आफैँ अर्को प्रसंगमा घटना भएको स्वीकार गर्दै लेनदेनमा मिल्न लागेको जानकारी पनि दिएका थिए । ‘आलमले पीडितलाई दुई लाख ५० हजार दिन खोजेका छन्, तर पीडितहरूले १० लाख खोजेका छन् । त्यसैले यो विषय मिल्दै छ,’ उनले अनुसन्धान टोलीलाई भनेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

विस्फोटमा घाइते भएकालाई जीवितै इँट्टाभट्टामा हालेर खरानी बनाइएको यस्तो जघन्य अपराधमा मिलापत्र हुँदै छ भनेर प्रहरी तमासे बनेको यो उदाहरण झन् आश्चर्यजनक छ । तर, यो विषय एसपी न्यौपानेको व्यक्तिगत स्वार्थसँग मात्र जोडिएको थिएन, सिंगो शक्ति नै यसमा लागेको थियो । त्यसैले पीडितहरूले पटक–पटक गुहार गर्दा पनि प्रहरीले उजुरी लिन मानेन, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन मानेन, महान्यायाधिवक्ताको कार्यालयले समेत पीडितको निवेदन खारेज गरिदियो । पीडितहरू सर्वोच्च पुगेपछि सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले घटनालाई गम्भीर भन्दै मुद्दा चलाउन आदेश दिएको थियो । त्यसको पनि सात वर्षसम्म प्रहरी प्रशासन चुप लागेर बसेको थियो । सर्वोच्चले ६ पटक ताकेता गरेपछि मात्र अहिले आलम पक्राउ परेका छन् र मुद्दा चलाउन तयार भएका छन् ।

वसी अख्तरकी आमालाई भनिएको थियो, ‘चुप लागे पैसा दिन्छौँ, बोल्यौ भने घरमा आगो लाइदिन्छौँ,’ आमा चुप बसिनन्, त्यसैले उनलाई गोली हानेर मारियो

जबरजस्ती चुनाव प्रचारमा लगिएको छोरा वसी अख्तर बम विस्फोटमा घाइते भएको र जिउँदै इँट्टाभट्टामा हालिएको थाहा पाएपछि आमा रोक्साना न्यायको लडाइँमा जुटेकी थिइन् । गाउँकी निरक्षर एक किसान महिला जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

आवाजबाट तर्सिएका मोहम्मद अफ्ताव आलमले रोक्सानालाई चुप लगाउन खोजेका थिए । ‘मेरो छोरा घाइते अवस्थामै ल्याइदिएको भए म उपचार गराउँथेँ, अपांग भए पनि मेरो छोरालाई म दुःख गरेर पाल्न सक्थेँ, तर उनीहरूले जिउँदै जलाए,’ रोक्सानाले अधिकारकर्मीहरूलाई तत्कालै भनेकी थिइन्, ‘आलमले गल्ती भयो, यसका लागि खेत र दुई लाख ५० हजार दिन्छु, काठमाडौं नजाऊ, तर चुप लाग्दैनौ भने तिम्रो घरमा आगो लगाइदिन्छु, तिमीहरूलाई मारिदिन्छु भनेर धम्की दिएका छन् ।’

तर, न्यायको लडाइँमा हिँडिसकेकी आमा पछि फर्किनन्, उनी सर्वोच्चसम्म पुगिसकेकी थिइन् । गाउँमै उनलाई बाटो ढुकेर गोली हानेर मारियो । उनलाई देवर नाता पर्ने दुदमियाँ कवारीले गोली हानेको अनुसन्धानमा खुल्यो । तर, रुक्सानाका श्रीमानले जाहेरी दिन मानेनन् किनकि आलमले चार कट्ठा जमिन उनको नाममा दिने प्रलोभन दिएका थिए । जिप्रका रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले भन्छन्, ‘यो घटनामा आलम पनि जोडिन्छन् कि भनेर हामीले बल्ल अनुसन्धान गर्दै छौँ । किनकि त्यतिवेला जाहेरी नै परेन ।’

नयाँपत्रिका दैनिकबाट ।