चितवनमा धान नकाट्न कृषि ज्ञान केन्द्रको आग्रह

Advertisement

चितवन । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताएका हुन् ।

कतिपय स्थानमा बाला निस्कन थालेको र कतिपय ठाउँमा बाला निस्कने चरणमा रहेको उनले जानकारी दिए । यो जातको धानको डिएनए परीक्षण भइरहेकाले यसका लागि अझै एक साता कुर्नुपर्ने उनले भने ।

तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ । त्यसलगत्तै कृषि तथा पशुपक्षी मन्त्रालयले क्षतिपूर्ति मूल्याङ्कन समिति बनाउने आश्वासन दिएको जनाइएको छ । समिति बनेर मूल्याङ्कन गरेपछि धान काट्दा क्षतिपूर्ति मूल्याङ्कन गर्न सहज हुने प्रमुख ढकालको भनाइ थियो । पूर्वी चितवनका कृषकले धान काट्न शुरु गरेका छन् । बीउ बिक्री गर्नेहरुले फरक जातको धानको बिउ बिक्री गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डिएनए परीक्षण भइरहेको छ ।

धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बालीमा पनि असर पुग्ने उक्त केन्द्रका प्रमुख ढकालको भनाइ थियो । धानपछि तरकारी खेतीका साथै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बालीमा पनि असर पर्ने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डिएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने उनले बताए ।

वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बिउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करीब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन शुरु गरेका छन् । विसं २०७२ मा सूचीकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ ।

जिल्लामा गरिमा, गोरखनाथ र युएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षेधान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

Advertisement

Advertisement

Advertisement