विद्युतीय बस खरिद प्रक्रियामा ढिलाइ किन ?

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ । मन्त्रालयले गएको असारमा नै विद्युतीय बस खरीदका लागि सहकारीको तीन अर्ब रुपियाँको शेयर खरिद गरे पनि अपेक्षाकृत रुपमा प्रक्रिया अघि नबढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहेको प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । चाँडो खरिद गर्नकै लागि सार्वजनिक खरिद प्रक्रियामा नगएर सरकारले ‘जीटुजी’ सरकारी निकायका बीचमा) माध्यममार्फत गरिएको उनको भनाइ छ । यो माध्यमबाट खरिद गर्ने निर्णय भए पनि पाँच महिना बित्दासमेत मन्त्रालयले चाहे जस्तो प्रगति नपाइएको उनको भनाइ छ । उनले भने, ‘यो अवधिमा साझाले हामीलाई यी यी कुरा भए भनेर जानकारी गराएको छैन ।’

मन्त्रालयले चाहे जस्तो नतिजा आइनसकेकाले खरिद प्रक्रियाबारे जानकारी मागे पनि खरिद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताए । खरिद प्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग्याउने उनको भनाइ छ । उनले भने, ‘मन्त्रीज्यूले पनि बस खरिद सकेसम्म चाँडो होस् भन्ने चाहाएका छन् ।’

विद्युतीय बस खरिदकै लागि तीनै तहका सरकारले सहकारीको शेयर खरिद गरेका थिए । नेपाल सरकारले तीन अर्ब रुपियाँ, प्रदेश नं ३ ले ३० करोड रुपियाँ, काठमाण्डौ महानगरपालिकाले १० करोड रुपियाँ, ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपियाँको शेयर खरिद गरेका थिए ।

Advertisement

Advertisement

Advertisement