जापानको सहुलियतपूर्ण ऋणमा नेपालको पहिलो सुरुङमार्गको निर्माण आजदेखि सुरु

Advertisement

काठमाडौं । नेपालमै पहिलो सडक सुरुङमार्ग र फ्लाई ओभर निर्माण सोमबारबाट थालनी हुँदै छ । सोमबार अपराह्न ३ बजे प्रधानमन्त्री केपी ओलीले नागढुंगा–सिस्नेखोला सुरुङको शिलान्यास गर्दै छन् । त्यससँगै पहिलो सडक सुरुङमार्ग निर्माणको औपचारिक थालनी हुने सडक विभाग अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । सुरुङमार्ग निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जग्गा भाडामा लिएर क्याम्प निर्माण थालिसकेको छ । ‘हाज्माले सोमबारदेखि निर्माण थाल्दै छ,’ थापाले भने ।

सुरुङमार्गकै अंग हुने गरी दुई फ्लाई ओभर निर्माण हुँदै छन् । नेपालमा फ्लाई ओभर पनि पहिलो पटक निर्माण हुन लागेको हो । दुई फ्लाई ओभरमध्ये एउटा अहिलेको सडक ट्राफिकलाई अवरोध नपुगोस् भनेर कलंकी–नागढुंगा सडक खण्डको बलम्बुमा निर्माण गरिनेछ । यसले त्रिभुवन राजपथमा सवारी आवात–जावतलाई सुचारु गर्नेछ । अर्को फ्लाई ओभर भने नागढुंगा जोड्ने स्थानीय सडकमा रहनेछ । यसले पनि सडक ट्राफिक सहज बनाउन भूमिका खेल्ने विभागका अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख थापाले जानकारी दिए । सुरुङ निर्माणले नेपालमा जापानी प्रविधि भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने सडक विभागको भनाइ छ ।

सुरुङमार्ग निर्माणमा ऐतिहासिक फड्को
नेपालमा पहाडी र हिमाली भूभाग धेरै भए पनि हालसम्म सडक बनाउँदा सुरुङमार्गको प्रयोग गरिएको छैन । वातावरणीय संरक्षण र दीर्घकालिन विकासका लागि पहाडी क्षेत्रमा सुरुङमार्ग उत्तम हुने विज्ञहरूले जोड दिँदै आएका थिए । निर्माण थालनी हुन लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गले अन्य ठाउँमा पनि सुरुङ निर्माणमा गति प्राप्त गर्ने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ‘देशभर अन्य एक दर्जन सुरुङमार्गको पनि अध्ययन थालनी भइसकेको छ,’ उनले भने ।

४२ महिनामा सुरुङ निर्माण सम्पन्न हुने
५दशमलव १३ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणपूर्वको सम्पूर्ण तयारी पूरा भइसकेको छ । तीन लेनको यस मार्गमा सुरुङको कुल लम्बाइ २.६८८ किमि र सडकको लम्बाइ २.४५ किमि हुनेछ । कम्पनीसँग सुरुङमार्ग निर्माणबारे ६ असोजमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले ४२ महिनामा निर्माण सम्पन्न गर्नेछ ।

तोकिएको समयभन्दा झन्डै २ वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ मा सम्पन्न हुनेछ । यसअघि सन् २०१६ मा सहुलियत दरमा जापानसँग ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै आयोजना निर्माण थालेर २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर खरिद सम्झौताका विभिन्न प्रक्रिया, जग्गाप्राप्ति र अन्य कारणले ढिलाइ हुँदा ठेक्का सम्झौता नै सन् २०१९ को अन्तिममा हुन पुग्यो ।

उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न ठेक्काको प्रतिस्पर्धामा चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो ।

सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाकाअनुसार सहभागीमध्ये हाज्माको ठेक्का रकम कम थियो । हाज्मा आन्दोका महाप्रबन्धक सिओसी हिरोसेले तोकिएकै समयमा आयोजना पूरा गर्न बताएका छन । कम्पनीले यसअघि कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरेको रेकर्ड छ । कम्पनीले समयमा काम सक्नेमा विश्वस्त छौँ,’ महाशाखा प्रमुख थापाले भने ।

कलंकी नागढुंगा नौबिसे जाम घट्ने
यो सुरुङमार्ग निर्माणपछि कलंकी नागढुंगा हुँदै नौबिसेसम्म अधिकांश समय भइरहने जाम घट्नेछ । यो सडक पार गर्न लाग्ने समय घटाउनेछ भने इन्धनको बचत गर्नेछ । साथै, वातावरणीय स्वच्छता राख्न पनि सहयोग पुग्नेछ ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement