सुरुभयो नेपालकै पहिलो सुरुङमार्गको निर्माण, तोकिएकै मितिमा बने चार बर्षपछि यात्रा गर्न पाइने

Advertisement

काठमाडौं । नेपालकै पहिलो सुरुङमार्गको निर्माणकार्य सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरे । काठमाडौं छिर्ने मुख्य नाकालाई सहज र छिटो बनाउन महत्वपूर्ण योगदान दिने यो सुरुङमार्गको प्रधानमन्त्रीले चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरेका हुन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोग (शुन्य दशमलव ०१ प्रतिशत ब्याजदर)मा निर्माण सुरु गरिएको यस आयोजना बनाउन २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले १६ अर्ब सहयोग गर्ने र बाँकी छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।

प्रवेश मार्गसहित पाँच दशमलव ५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक श्याम खरेलले बताए । यसमा करीब छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ ।

चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको जनाइएको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउने खरेलले बताए । सडक पूर्वाधारमा निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement