भ्रमण वर्ष लक्षित गरेर पोखराको लेकसाइडबाट काठमाडौंसम्म स्तरीय बस सेवा शुरु

Advertisement

कास्की । शहर पोखराको लेकसाइडबाट काठमाडौंसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौंको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।

दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौंका लागि दैनिक २०० को हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलोपटक सेवा शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । सेवा सञ्चालनबाट पोखरा घुम्न आउने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवद्र्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

सेवा शुरु भएपछि पर्यटक लेकसाइडसम्म सिधैँ आउन सक्ने भएकाले पनि उनीहरुलाई सहज हुने कम्पनीले जनाएको छ । ‘भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ’, केसीले भने ।

सो प्रालिले केही समयमा नै अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ । पोखरादेखि काठमाडौंसम्मको भाडादर प्रतिव्यक्ति रु ७०० तोकिएको छ । प्रालिका एक हजार २०० सवारी साधनले पोखराबाट देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरुमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement