गणतन्त्रप्रति जनता निराश देखिए, धेरै टिक्ला जस्तो लागेनः चित्रबहादुर केसी

Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने, ‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि ? भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’

केसी थपे, ‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो । देशमा गणतन्त्र स्थापना भयो । नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्र पनि आयो, संघीयता पनि ल्याईयो । हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’

मुलुकमा यतिबेला दुई तिहाई बहुमतको सरकार रहेको भए पनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको केसीको गुनासो छ । उनले भने, ‘तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो । अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ । यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । अहिले तिहार आईरहेको छ, गर्नु नगर्नु गरेर अकुत सम्पत्ति कमाउनेको लागि दशैं र तिहार आयो । दैनिक दुई हजारको दरले नेपाली युवाहरु विदेश गैरहेका छन् । अहिलेपनि एयरपोर्ट जाने हो भने खुटटा हाल्ने ठाउँ छैन् ।’

नेता केसीले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे, ‘तर, यथार्थमा जनताको समस्या जटिल छ । यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’

आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि केसीले सनुाए । उनले भने, ‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो । अहिले नेपाली जनताको मुखमा संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ । संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन् । लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन् । यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ ।’ केसीले ७ वटै प्रदेशमा संघर्षका कार्यक्रमहरु लिएर पार्टी जाने पनि जानकारी दिए ।

अराजकता, भ्रष्टाचार (वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध) अहिले देखिन थालेको उनको भनाई छ । केसीले भने, ‘उनीहरुकै काण्ड र कर्तुत बाहिर आईरहेका छन् । यो सरकारले ठूला–ठूला भ्रष्टाचारीलाई कारबाही गर्न नसके पनि जनप्रतिनिधिको कर्तुत मिडियामा आईरहेका छन् । यसखालका मान्छेलाई कारबाही गर्नुपर्छ । अरु कुरा भ्रष्टाचारको विरुद्धमा सरकारले कारवाही गरेको छ । तर, सानालाई मात्रै । ठूला–ठूला भ्रष्टाचार र अनियमितताका काण्डा ललिता निवास, वाईडबडीका दोषीलाई कारबाही गरेको छैन् ।’

अध्यक्ष केसीले आफूहरुबीच मतभेद जे भएपनि गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘उपलब्धि गुम्न दिनुहुँदैन् । तल अधिकार दिनु ठीक छ । प्रदेशको कुनै औचित्य छैन् । नेपाली जनताले प्रजातान्त्रिक विकेन्द्रिकरण चाहेको हो । नेपालको भौगोलिक बनावटअनुसार पनि एकात्मक प्रणाली नै उचित छ । ठूलो संयन्त्र पाल्दाखेरि अहिले नेपाली जनताले थाहा पाए । हिजो हामीले भनेको कुरा ख्यालठट्टाजस्तो लाग्दथ्यो । अहिले यो कुरा ठीक रहेछ भन्ने कुरा साधारण मकै पोलेर बेच्नेले पनि थाहा पाए ।’

जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दा पनि आफ्नो सेवासुविधा बढाउनेतर्फ मात्रै सोचेको पनि केसीको आरोप छ । उनले भने, ‘जनताको ढाड सेक्नेगरि कर असुल्ने । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिले आफ्नो सेवा र सुविधा मात्रै हेरे । त्यही भएर अहिले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको छ। कतै यो निराशा र वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने डर छ ।’ उनले सरकारले जनतालाई सुशासन दिनुपर्ने आग्रह गरे । उनले भने,‘जनताको मन जितेरमात्रै प्रणाली बलियो हुन्छ । सत्ता कब्जा गरेर मात्रै केही हुँदैन् ।’

Advertisement

Advertisement

Advertisement