सरकार असफल हुँदा व्यवस्थाप्रति नै मानिसको विश्वास टुट्ने खतरा बढ्योः लेखक

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको बताएका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पूरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’

लेखकले यतिबेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनले भने, ‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’

मुलुकमा यतिबेला सुशासनको अवस्था पनि नभएको लेखकको टिप्पणी छ । उनले थपे, ‘जनतालाई करको बोझमा राखिएको छ । मानिस आक्रान्त छन् । स्थिति के छ भने ? घरबाट तरकारी किन्न गएको मान्छे महँगी देखेर बजारबाट रित्तै झोला लिएर घर फर्केको छ । संविधान कार्यान्वयन गर्न सरकार उदासिन छ । आज संविधानअनुरुप अधिकारको वितरण भएको छैन् । यो मैले भनेको होईन, सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भनाई हो ।’

मुख्यमन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारले कानून बनाउन नसकेको र केन्द्र सरकारले संविधान र संघीयताको भावनाअनुरुप अधिकार प्रत्यायोजन गर्न नसकेको आरोप लगाईरहेको पनि नेता लेखकले उल्लेख गरे । उनले भने, ‘जनताबाट असुल गरेको कर, भ्रष्टाचारमा जान्छ । स्थानीय तहमा हेर्ने हो भने चिनेजानेको भरमा कथित उपभोक्ता समितिलाई पैसा दिने र विकासको काम नभएर दुरुपयोग हुने गरेको छ । सुदुरपश्चिममै एक ठाउँमा बाढी नियन्त्रणको लागि लाखको बजेट गयो, तर त्यो नामको खोला नै छैन् । सरकार गैरजिम्मेवार भएको छ । संघीय संसदमा प्रस्तुत गर्ने विद्येयकहरु विवादित भएका छन् । सरकारका निर्णयहरु विवादित बनेका छन् । सरकार दुई तिहाईको दम्भमा छ । अपराध बढेको छ । भ्रष्टाचार बढेको छ । सरकार असफल भएको छ ।’

लेखकले सरकारप्रति सर्वत्र जनतामा निराशा फैलिएको बताउँदै यसको परीणाम घातक हुने खतरा औंल्याए । उनले भने, ‘सरकार त असफल हुन्छ, भयो भयो । यो व्यवस्थाप्रति मानिसको विश्वास टुट्ने खतरा हुन्छ । संविधानप्रतिको विश्वास टुट्ने खतरा हुन्छ । यो सडकप्रति जनताको विश्वास छैन र निराशा बढेको कुरा सडकमा हिँड्दा थाहा हुन्छ । अहिले जुन ढंगको कुशासनको स्थिति देखिएको छ, विधिको शासनको विरुद्ध गतिविधि देखिएका छन् । सरकार अत्यधिक ज्यादा दम्भपूर्ण ढंगले अघि बढ्न खोजेको स्थिति छ । हाम्रो यो व्यवस्थाप्रति घातक नहोस भन्ने चिन्ता हो ।’

त्यस्तै, उनले संक्रमणकालिन न्याय पनि चाँडै टुँगो लगाउनुपर्ने बताए । लेखकले भने, ‘विस्तृत शान्ति सम्झौता अनुसार अघि बढ्यौं । शान्ति प्रक्रिया, अन्तरिम संविधान र अहिलेको नयाँ संधिवान कांग्रेसको नेतृत्वमा भएको हो । मलाई गर्व लाग्छ । अब संक्रमणकालिन न्यायलाई चाँडो अघि बढाउनुपर्छ । कानून संशोधन गरेर निश्कर्षमा पुर्याउनुपर्छ ।’

नेता लेखकले सभामुख र उपसभामुखबारे वर्तमान सरकारले पहिले नै संविधानको बर्खिलाप काम गरेको आरोप लगाए । उनले भने, ‘यसबारेमा संविधानमै विशिष्ट व्यवस्था गरेको छ । संसद भनेको राजनीतिक थलो हो । सन्तुलित रुपमा अघि बढाउनको लागि फरक–फरक राजनीतकि दलका मानिसहरु सभामुख र उपसभामुख हुनुपर्छ भनिएको छ । तर, त्यसो गरिएन । हामीले त संविधानअनुकुल जाऔं भनेकै हो । राजनीतिलाई राजनीतिक रुपमै अगाडि बढाउनुपर्छ । अहिले सभामुखको पद खाली भएको छ। उपसाभमुख हुनुहुन्छ । यदि संविधानको भावनालाई पक्रने हो भने । फरक दल र फरक लिङको सभामुख र उपसभामुख हुनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement