साहसिक पदयात्राको गन्तब्य बन्दै धौलागिरि पदमार्ग

Advertisement

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौं ९८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ ।

अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।

केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने यस पदमार्गमा पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको आवागमनसमेत बढ्न थालेको इटाली आधार शिविरमा होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले बताए ।

धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ भने पदयात्रा पनि सुरक्षित हुन थालेको छ ।

दशैंको बिदाको समयमा एक साता लामो पदयात्रा गरी धौलागिरि आधार शिविरमा पुगेकी धौलागिरि गाउँपालिका–४ खाम्लाकी केसरी शर्माले पर्यटन विकासको अथाह सम्भावना रहेर पनि यो क्षेत्र प्रचारप्रसारको कारण ओझेलमा परेको अनुभव सुनाइन् ।

पदमार्गअन्तर्गत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापानी क्याम्पदेखि आधार शिविरसम्मको ग्लासियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको उनले बताइन् ।

पछिल्लो समय पदमार्गअन्तर्गत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्पसम्मको पदमार्गलाई स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश र संघीय सरकारमार्फत प्राप्त भएको रू. ६५ लाख बढी बजेटबाट करीब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको छ ।

भिर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । उनले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र खोलामा झोलुंगे पुल बनाउनको लागि पहल भइरहेको बताइन् ।

जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकांश पर्यटक हेलिकप्टरमार्फत जाने भए पनि धौलागिरिको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटक भने पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् ।

धौलागिरि पदमार्गमा मनोरम हिमश्रृंखलासँगै अग्ला झरना, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमतालसमेत पर्यटकको आकर्षण बन्ने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement