दक्षिण एसियामा व्यापार सहजीकरणको मुख्य बाधक पूर्वाधारः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा भाग लिएर बुधबार फर्किएका छन् ।

बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशीलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवं अनिश्चितताको विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

विश्व बैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको बताउँदै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्ने बताएका थिए ।

अर्थमन्त्री खतिवडाले विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संयूक्त बैठकमा भाग लिई त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएको सचिवालयले उपलब्ध गराएको सुचनामा जनाइएको छ ।

यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै खतिवडाले विश्व बैंक एडीबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताए ।

दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताए । साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको खतिवडाको तर्क छ ।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान–प्रदान गर्ने सम्बन्धी एक बैठकको सहअध्यक्ष्यता गर्दै उनले छोटो समयमा नै आर्थिक बृद्धि, रोजगारी सिर्जना, समावेशी विकास र आयको वितरण जस्ता पक्षमा संघीयता कार्यान्वयनले सकारात्मक सहयोग पुगेको धारणा राखे । बैठकको सहअध्यक्ष्यता गरेका विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले अर्थमन्त्रीको सो धारणाप्रति समर्थन जनाएको जनाइएको छ ।

बैठकमा नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा नेपाल सरकारका सचिव बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए ।

बिश्व बैंकका उपाध्यक्ष, दक्षिण एसियाका अन्य मन्त्री समेत सहभागी सडक सुरक्षा सम्बन्धी कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनु पर्ने डिजाइनिङ्ग तथा इन्जिनियरिङ्ग पक्ष, त्यहाँको भौगोलिक अवस्था, सवारी साधनको भारवहन क्षमता तथा त्यसको परिक्षण, सडक सुरक्षाको विषयमा सुचना प्रवाहको स्थिति एवं सवारी साधन उपयोगकर्ताको ज्ञानको कमी, यातायात क्षेत्रको नियमन तथा त्यसको कार्यान्वयन र दुर्घटना पश्चातको उपचार गर्ने क्षमता जस्ता विषयमा ध्यान पुर्याउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एसियन ग्रोथ आउटलुक बैठकको छलफलमा भाग लिंदै खतिवडाले विश्वव्यापी बृद्धिमा अनिश्चितताका बावजुद पनि दक्षिण एसिया तीव्र गतिमा बृद्धि गर्ने क्षेत्रमा स्थापित भएको बताउँदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन स्वस्थ जनशक्तिको विकास, थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको बताए ।

वासिङटन भ्रमणको अवधिमा मिलिनियम च्यालेन्ज कर्पोरेशनका उच्च अधिकारी र अर्थमन्त्रीबीच द्धिपक्षीय बैठक गरी यसको हालसम्मको प्रगतिको अवस्था तथा यसको कार्यान्वयन पक्षको समिक्षा गरिएको जनाइएको छ ।

विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हाट्र्विक सेफर, चिफ इकोनोमिस्ट तथा नेपालको सहायता कार्यक्रम हेर्ने उच्च तहका पदाधिकारीहरु तथा प्राक्टिस म्यानेजर समेत सम्मिलित बैठकमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान विकासका चुनौतिहरु तथा अवसरको विषयमा चर्चा गर्दै बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा गरेका थिए ।

त्यस अवसरमा ऋण पोर्टफोलियो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनु पर्ने, उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो ।

त्यस्तै गरी, क्षेत्रगत नीति सुधारमा आधारित वजेट सहायता परिचालन बढाउन पर्यटन, उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समुहले काम सुरु गर्ने सम्झदारी भएको थियो ।

Advertisement

Advertisement

Advertisement