भेटेरिनरीसम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै, थुप्रै मुलुकका वैज्ञानिकहरु आउने

Advertisement

काठमाडौं । नेपाल भेटेरिनरी एशोसियशनले ‘सस्टेनेवल एनिमल एग्रिकल्चर फर डेभेलपिङ कन्ट्री’ (एसएएडीसी २०१९)कोे सातौं अन्तर्राष्ट्रिय सम्मेलन यही कात्तिक २२ गतेदेखि पोखरामा आयोजना हुने जनाएको छ । एशोसियशनले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो ।

चार दिनसम्म चल्ने सम्मेलन मुल नारा ‘एको–फ्रेन्डली एनिमल प्रोडक्शन फर प्रोफिटेवल स्मलहोल्डर फार्मिङ’ रहेको छ । यसअघि यो सम्मेलन चीन, मलेसिया, थाइल्याण्ड, इण्डोनेसियामा आयोजना भएका थिए ।

यस पटक हुने एसएएडीसीको सातौं सम्मेलन मुख्यगरी साना र मध्यमस्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशुचिकित्सक, पशु स्वास्थ्य, पशु पोषण र घाँसे बाली, चरन व्यवस्थापन, पशु प्रजनन्, मत्स्य पालन, हिमाली क्षेत्रमा पालिने याकको संरक्षण र व्यवस्थापनलगायतका क्षेत्रमा भएका अनुसन्धानको प्रस्तुति र छलफल गरिने एशोसियशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिए ।

साथै, जलवायु परिवर्तनले विकासशील मुलुकका साना किसानहरुमा पारेको असर र त्यसलाई न्यूनीकरण गर्ने उपायबारे पनि छलफल हुने उनले बताए । सम्मेलनको मुख्य सहप्रायोजकहरुको रुपमा पशु सेवा विभाग र गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालय रहेका छन् ।

सम्मेलनमा ४ महादेशका २४ राष्ट्रबाट करिव चारसय पशु चिकित्सक, पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न वैज्ञानिक, प्राध्यापन पेशामा संलग्न व्यक्तिहरु, अनुसन्धानकर्ता, उद्यमी, कृषकहरुको सहभागिता रहनेछ । सम्मेलनको प्रमुख वक्तामा अष्ट्रेलियाको चार्लेस स्टर्ट युनिभर्सिटीका प्राध्यापक डा. पिटर विन र हेफर इन्टरनेशनल अर्कान्सास अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनी रहनेछन् ।

अरु १२ जना अन्तर्राष्ट्रिय र १० जना स्वदेशी वक्ता रहने यस सम्मेलनमा ९५ जना विदेशी वैज्ञानिक र ६२ जना नेपाली वैज्ञानिकका १५७ कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement