रौतहट सामुहित हत्याकाण्डः सुरुमा घट्नास्थल पुग्ने प्रहरीसँग बयान सुरु

Advertisement

रौतहट । राजपुर बम कान्डका मुख्य अभियुक्त सांसद महम्मद आफताब आलमले प्रहरीलाई घटना नै नभएको बयान दिएपछि रौतहट प्रहरीले विभिन्न कोणबाट घटनुसन्धान अगाडि बढाएको छ। घटनालाई आफैंले देखेको र भोगेको हो भन्नेहरू धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका छन्। आलमविरुद्ध ‘एक्सन’ लिएपछि प्रहरीप्रति जनविश्वास बढेको छ।

प्रहरीले सत्यतथ्य बुझ्ने क्रमलाई निरन्तरता दिएसँगै घटनाका पीडित, घाइते, प्रत्यक्षदर्शी तथा इँटा उद्योगका मजदुरहरू पनि प्रहरीको सम्पर्कमा धमाधम आइरहेका छन्। अहिलेसम्म प्रहरीसमक्ष १२ जना प्रत्यक्षदर्शी, बम बिस्फोटका दुईजना घाइते, आधा दर्जनभन्दा बढी मजदुर र विभिन्न पीडितहरूले प्रहरीसमक्ष बयान दिइसकेका छन्। प्रहरीसमक्ष आफैं उपस्थित भएर बयान दिनेहरूलाई प्रहरीले बकपत्र कागज गराइरहेको छ।

घटना भएको दिन २०६४ चैत २७ गते चुनावको सुरक्षार्थ राजपुर इलाका प्रहरी कार्यालयमा खटाइएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीलाई जिल्ला सरकारी वकिलको कार्यालयले बयानको लागि पत्र काटिसकेको छ। घटनाको प्रत्यक्ष प्रमाण हुन सक्ने भनी बयानको लागि प्रनि सुवेदीलाई बोलाइएको हो।

प्रहरी प्रधान कार्यालयमा डिएसपी रहेका सुवेदीले बयान दिएपछि मुद्दाको पक्षमा अझ बलियो प्रमाण हुने देखिएको छ। तत्कालीन प्रनि सुवेदीलाई घटना भएको बेला रातारात सरुवा गरिएको थियो। तत्कालीन एसपी लक्ष्मण न्यौपानेले प्रनि सुवेदीलाई राजपुरबाट जिल्ला प्रहरी कार्यालय तानेका थिए।

निरन्तर इन्कारी बयान दिइरहेका सांसद आलमले पोलिग्राफ परीक्षण गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालयले पनि सक्रियता देखाएको हो। बिस्फोटलगत्तै घटनास्थल पुगेका तत्कालीन प्रनिले दिने बयान अकाट्य प्रमाण बन्न सक्ने पूर्वानुमान गरिएको छ।

घटनाको सम्पूर्ण प्रमाण नष्ट गरिसकेको र तत्कालीन जिल्ला प्रहरी कार्यालयमा खास कुनै मिसिल नै नराखिएको अवस्थामा सर्वोच्च अदालतको पत्रानुसार अनुसन्धानको काम अगाडि बढाउनु प्रहरीलाई ठूलै चुनौती रहेको थियो। प्रमाणहरू बटुल्ने क्रममा धमाधम फेला पर्न थालेको र विभिन्न पक्षले प्रहरीलाई विश्वास गरेर प्रमाणहरू जुटाउन सहयोग गरिरहेको सन्दर्भमा घटनास्थलमा सबैभन्दा पहिले पुगेका प्रहरी निरीक्षकको बयान निकै महत्वपूर्ण हुने ठानिएको छ।

पीडितमा न्यायको आशा पलाउँदै
घटनाको प्रमाणहरू फेला पर्न थालेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाउन थालेको छ। १२ वर्षसम्म न्यायका लागि संघर्ष गरिरहेका मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरको घर–परिवारमा न्याय पाउने आशा पलाउन थालेको हो।

विभिन्न सरकारी वकिलको कार्यालय तथा न्यायालयमा १२ वर्षसम्म न्यायका लागि गुहार लगाएका मृतक सिंहकी ७५ वर्षीया आमा कमलादेवी सिंहले छोरालाई आलमले मारेर प्रमाणहरू नष्ट गरिसकेको भन्ने लागेको तर अहिले धमाधम प्रमाणहरू फेला पर्न थालेकोले न्याय पाउने आशा पलाएको बताइन्। छोरा त फर्केर नआए पनि न्यायप्रति सबैको विश्वास बढोस् भनेर आफूले न्याय नमरेको हेर्न चाहेको सिंहको भनाइ छ।

अर्का मृतक ओसी अख्तरकी पत्नी आमना खातुनले पनि घटना हुँदै नभएको भनी मिलापत्रको लागि दबाब र प्रलोभन दुवै आउँदै गरेको अवस्थामा प्रहरीले सक्रियता देखाएपछि न्याय पाउने आशा पलाएको बताएकी छिन्। विपक्षीले अहिलेसम्म कुनै प्रमाण नभएको मुद्दामा मिलेर जान भन्दै आएको तर अहिले आएर प्रहरीले विभिन्न प्रमाणहरू जुटाउन सफल भएकोमा खुसी लागेको बताउँदै खातुनले अब अदालतले आफूहरूप्रति अन्याय गर्नेलाई जेल सजाय दिने कुरामा आफू विश्वस्त रहेको बताइन्। अब न्यायप्रति सबैको विश्वास बढ्ने खातुन बताउँछिन्।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement