प्रधानमन्त्री अझै आईसीयूमा, अस्पतालले लुकायो यथार्थ अवस्था

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्राडा दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । ‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो । प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,’ निर्देशक पाण्डेले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । ‘उहाँ नियमित परीक्षणका लागि अस्पताल जानुभएको हो । परीक्षणको रिपोर्ट आएपछि बालुवाटार फर्कनुहुन्छ,’ उनले भने ।

तर ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरे । ‘यो नियमित फलोअप होइन,’ एक चिकित्सकले भने, ‘स्वास्थ्य समस्याका लागि विशेष परीक्षण, उपचार प्रक्रियाको क्षमतायुक्त अस्पताल नै पुर्‍याउनुपर्ने बाध्यताले उहाँलाई ल्याइएको हो ।’ उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना दिइएको छैन । निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र रिपोर्ट हेर्न दिइएको छ ।

प्रधानमन्त्री भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुपूर्व शाहले प्रेस नोट जारी गर्दै तत्कालीन स्वास्थ्यस्थिति र उपचार प्रक्रियाबारे जानकारी गराएकी थिइन् । उक्त जानकारीअनुसार प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पताल ९एसएनयू० मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो । त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।

‘एन्टीबडी’ भनेको शरीरलाई बाहिरी तत्त्वबाट जोगाउन उत्पादन गरिने एक प्रकारको लडाकु कोष हो । चिकित्सकका अनुसार १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टीबडी घटाउन प्लाज्माफेरेसिस गरिनु सामान्य प्रक्रिया नै थियो । प्लाज्माफेरेसिस पद्धतिमा शरीरबाट रगतलाई नलीको माध्यमबाट ‘एफेरेसिस’ मेसिनमा पठाइन्छ । मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी निकालेर रगत पुनः शरीरमै पठाउँछ । एन्टीबडी फेरि बढ्न नदिन केही औषधि दिइन्छ । त्यो औषधिले राम्रो काम गरे तत्काललाई मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन । तर, एन्टीबडी उत्पादन नियन्त्रण नभए प्रत्यारोपणको विकल्प हुँदैन । उक्त औषधिले कहिलेकाहीँ सकारात्मक असर देखाउँछ भने कहिले थप जटिलता पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।

‘अहिले प्रधानमन्त्रीको स्वस्थ्य अवस्था के छ भनेर आकलन मात्र गर्न सक्छौं । उपचारमा प्रत्यक्ष संलग्न चिकित्सकले औपचारिक रूपमा नभनेसम्म केही पनि भन्न मिल्दैन,’ एक विज्ञ चिकित्सकले भने, ‘तर डायलाइसिस नै गर्न थालिएको हो भने उहाँको शरीरले डोनरबाट प्राप्त मिर्गौला अस्वीकार गर्न थाल्यो कि भन्ने नै हो । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा ११–१२ वर्षपछि यस्तो समस्या देखिनु सामान्य नै हो ।’

विज्ञका अनुसार कहिलेकाहीं सामान्य मानिसलाई पनि विभिन्न संक्रमणका कारण डायलाइसिस गर्नुपर्ने हुन सक्छ ।

प्रधानमन्त्रीलाई पहिलो पटक सिंगापुर लगिनुअघि साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । त्यही रिपोर्टका आधारमा उनलाई सिंगापुर लैजाने निर्णय भएको थियो ।

रेनल बायोप्सीमा प्रत्यारोपित मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ ।

ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचारपछि निको भएका उनी त्यसपछि नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए । गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि पनि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

डायलाइसिस के हो ?
मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि मेसिनको सहायतामा रगतमा भएका फोहोर तत्त्व, शरीरलाई चाहिनेभन्दा बढी मात्रामा रहेको नुन र पानी बाहिर फालेर रक्तचाप नियन्त्रणमा राख्न गरिने प्रक्रिया नै डायलाइसिस हो । यो दुई प्रकारको हुन्छ ।

पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।

सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने र आलस्य महसुस हुन्छ । कहिलेकाहीं पूर्वलक्षण नदेखिन पनि सक्छ ।

सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ । एकपटक डायलाइसिस गर्न करिब ४ घण्टा लाग्छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement