बाल्यकालका स्वार्थी र लोभी सी जीनपीङलाई बदल्ने ३ कुरा, जुन उनकै बाबुले सुनाएका थिए

Advertisement

काठमाडौं । म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।

जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गए, उनको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो । मलाई ज्यादै पश्चाताप भयो । आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।

मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— 'प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ।'

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।

बाबुले मलाई भन्नुभयो,-प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज ?
यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, प्रिय छोरा-'तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन सक्छ, छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।'

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउमीन पकाउनुभयो— 'एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो—प्रिय पुत्र, चाउमीनको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ ?'

यसपटक मैले बाबुलाई भनें— 'बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ ।'

मेरा बाबुले नाई नास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— 'पक्का पनि यसपटक मैले अण्डा गुमाएँ । तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें ।'

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।

त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु—'मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु।'-Homar Shrestha को फेसबुक वालबाट । उनले यो सामग्री Lovers of Poetry and Short Stories बाट साभार गरि अनुवाद गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement