बलात्कार काण्डमा मुछिएका महराविरुद्ध सजाय कम हुनेगरी मुद्दा दर्ता

Advertisement

काठमाडौँ । बलात्कार काण्डमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध सजाय कम हुनेगरी मुद्दा दर्ता गरिएको छ । घट्ना भएको दिन आफूमाथि बलात्कार भएको भन्दै प्रहरीदेखि थुप्रै महिला नेतृ र मिडियासँग न्यायका लागि पीडित रोशनी शाहीले हारगुहार गरे पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरामाथि बलात्कारको प्रयास गरेको आरोपमा मात्रै मुद्दा चलाउने निर्णय गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

शाहीले घटनाको भोलिपल्ट आफूमाथि महराले बलात्कार गरेको बताएकी थिइन् । तर उनले किटानी जाहेरी दिने क्रममा भने आफूमाथि बलात्कार प्रयास मात्रै गरेको उल्लेख गरेकी थिइन् । पटक पटक आफ्नो बयान फेर्दै आएकी शाहीले कहिले महरा आफ्नो अभिभावक भएको र उनले आफूमाथि कुनै अभद्र व्यवहार नगरेको समेत बताएकी थिइन् । महरा शाहीको कोटेश्वरस्थित डेरामा पुगेको प्रहरीले सीसीटीभीमार्फत यसअघि नै पुष्टि गरिसकेको छ । बलात्कार भएको भनिएको दिन घट्नास्थलमा भने महराले लिएर गएको रक्सीको बोतल, स्न्याक्स, उनको चस्मा, बलात्कारका क्रममा छरिएका अन्य सरसामान प्रहरीले यसअघि नै बरामद गरेको थियो ।

सरकारकी वकिलको कार्यालयका अनुसार महरामाथि बलात्कारको प्रयास गरेको र सार्वजनिक ओहदामा बसेर कसुर गरेबापत थप सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिता अनुसार १८ वर्षमाथि बलात्कारको मुद्दामा ७ देखि १० वर्षसम्मको कैद सजायको व्यवस्था छ । बलात्कारको प्रयास गर्नेलाई त्यसको आधा अर्थात् ३ वर्ष ६ महिनादेखि ५ वर्षसम्म सजाय हुन्छ।

सार्वजनिक ‌ओहदामा बसेकाले ऐनमा व्यवस्था भएको सजायको डेढ गुणा बढी सजायको माग दाबी गर्न पाइने कानुन व्यवसायी बताउँछन् । जस अनुसार महराथमाथि ५ वर्ष ३ महिनादेखि ७ वर्ष ६ महिनासम्म कैद माग दाबी गर्न सकिने भए पनि महराविरुद्ध दोहोरो सजाय हुने संभावना कम देखिन्छ । पक्राउ परेसँगै स्वास्थ्यको कारण देखाउँदै नर्भिक अस्पतालमा भर्ना भएर बसेका महरालाई सरकारकी वकिलको कार्यालयमा उपस्थित गराएर अभियोगपत्रसँगै जिल्ला अदालतमा पेश गरिएको छ ।

Advertisement

Advertisement

Advertisement