गभर्नरको रेसमा डा. राजन खनालको इन्ट्री

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरको रेसमा अर्थ सचिव डा. राजन खनालले इन्ट्री मारेका छन् । खनालले यहि माघदेखि अर्थ सचिवबाट अवकास पाउँदैछन् । तत्कालिन एमाले निकट मानिएका खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हालेपछि अर्थसचिव बनाएका थिए । अख्तियार जानु अघि खनाल राजश्व सचिवको जिम्मेवारीमा थिए ।

उनी २०७४ चैत २६ गते सचिवमा बढुवा भएका थिए । उनले नेपालको कर नीतिका विषयमा नेपाल संस्कृत विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।  कर प्रशासनको विज्ञका रुपमा चिनिएका खनाल हाल राष्ट्र बैंक सञ्चालक समितिमा सदस्य पनि छन् । अर्थ मन्त्रालयका क्याडरका रुपमा चिनिएका खनाललाई राष्ट्र बैंकमा पठाउँदा काम गर्न सहज हुने निष्कर्षमा अर्थमन्त्री डा. खतिवडा पुगेको उनी निकटस्थहरु बताउँछन् ।

त्यसो त प्रधानमन्त्री केपी ओलीका लागि खनाल उपयुक्त पात्र भएको बताइन्छ । उनलाई तडकभडक बिनै खुरुखुरु काम गर्ने प्रशासकका रुपमा लिइन्छ । अर्थमन्त्रालय र राष्ट्र बैंक दुबैलाई नजिकबाट बुझेका खनाललाई गभर्नर बनाउँदा सरकारलाई काम गर्न सहज हुने भन्दै खनाल निकटहरुले लबिङ गरिरहेका छन् ।

गभर्नरको रेसमा खनालको ईन्ट्रीले धेरैलाई चकित तुल्याएको भए पनि अर्थमन्त्रालयभित्रै भने यसलाई स्वभाविक मानिएको छ । ‘उहाँ बामपन्थी झुकाव भएको व्यक्ति हो, अहिले सत्ता चलाईरहेकाहरुसँग उहाँको राम्रो सम्बन्ध छ, फेरी उहाँ क्षमता भएको मान्छे पनि हो, हामीले पनि गभर्नर बन्न लागिपरेको भनेर गाइगुई हल्ला भने सुनेकै हो’, अर्थमन्त्रालय श्रोतले भन्यो ।
नेपाल राष्ट्र बैंकमा पनि गभर्नरको रेसमा डा. खनालले इन्ट्री मारेको चर्चा सुरु भैसकेको छ ।

यस अघिदेखि नै दुई जना डेपुटी गभर्नरहरु चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले गभर्नरको रेस सुरु गरिसकेका थिए । त्यस्तै, लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीदेखि पुर्व पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञवाली, बासुदेव अधिकारी, भिष्म ढुंगाना, सञ्चालक समिति सदस्य सुबोध कुमार कर्णले लबिङ गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement