चौधरी फाउण्डेसनको पहलमा कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू

Advertisement

काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरिन् । संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि सुपोषित हुनु आवस्यक रहेको बताइन् ।

यस अभियानलाई अगाडि बढाउन गैरनाफामूलक बलियो नेपाल नामक सस्था स्थापना गरिएको चौधरी समूहले जनाएको छ । नेपालमा आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कारण ख्याती कमाएका व्यक्तित्वहरू बलियो नेपालको बोर्डमा रहेको जनाउँदै समूहले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सीईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला रहेको जानकारी दिएको छ ।

चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको समूहले आफ्नो विज्ञप्तिमा जनाएको छ । विनोद चौधरीले विल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरि यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल गरेको बताए ।

उनले भन्छन्, ‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो, हाम्रा बालबालिका कुपोषणको शिकार भईरहेका छन् । उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खाँचो छ । यही उद्देश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनसँग सहकार्य अगाडि बढाएको हो ।’

पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने अपेक्षा राखे ।

परिसंघका उपाध्यक्ष चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिए । उनले भने, ‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान शुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नु परेको छ ।’

Advertisement

Advertisement

Advertisement