तीस विघा क्षेत्रफलमा निर्माण हुने आधुनिक कृषिउपज केन्द्रको डीपीआर तयार

Advertisement

बुटवल । रूपन्देहीको सेमलारमा सैनामैना नगरपालिकासमेतलाई समेटेर बन्न लागेको आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

बुटवल उपमहानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को क्षेत्रमा पर्ने डहरगाउँ र कर्साघाट क्षेत्रमा रहेको ३० बिघा क्षेत्रफलमा आधुनिक कृषि केन्द्र बन्ने भएको हो । उक्त कृषि प्रवद्र्धन केन्द्र निर्माणका लागि रु दुई अर्ब चार करोड ४३ लाख लागत अनुमान गरिएको छ । सो केन्द्रबाट कृषिउपजको सङ्कलन, भण्डारण, प्रशोधन र बिक्री वितरणका साथै एग्रोटुरिज्मको समेत प्रवद्र्धन हुनेछ ।

सङ्घीय सरकारअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रले छ महीना लगाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको हो । सोलाई सङ्घीय सरकारको विभागीय मन्त्रालयले मेगा प्रोजेक्टका रूपमा लिँदै सोहीअनुरूप लगानीका स्रोत खोज्ने बताएको छ ।

प्रस्तावित आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सँगै प्रारम्भिक चरणको अध्ययन पूरा भएपछि लगानीका स्रोतको खोजी तीव्र पारिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । उनले सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी तथा सहकारी क्षेत्रको समेत सहकार्यमा लगानी गर्ने वातावरण बनाइने जानकारी दिए ।

प्रमुख सुवेदीको नेतृत्वमा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार सञ्जेल, उक्त क्षेत्रमा पर्ने वडाका अध्यक्षसहित जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवाले संयुक्तरूपमा प्रस्तावित क्षेत्रको अनुगमन गर्दै मेगाप्रोजेक्टलाई सफल बनाउन सबैले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रतिवेदनअनुसार बजारको संरचना बनाउन रु एक अर्ब ६५ करोड लगाइने छ । त्यसमा विभिन्न ३४ ब्लक निर्माण गरिने छ । विभिन्न छ गोदाम घर बन्नेछन् । केन्द्रभित्रै अस्पताल, गेष्ट हाउस, शौचालय, धर्मकाँटा, क्वारेन्टाइन चेकपोष्टदेखि थोक र खुद्रा सामानका अलग–अलग सटर बन्नेछन् ।

एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ भने ५० हजार टन क्षमताको तरकारी, पशुपक्षी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर बन्ने छ । यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने बताइएको छ । पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्ने छ । तीन वटा जीउँदो माछा बिक्री केन्द्र बन्ने र एक सय मेट्रिक टन जोख्न सक्ने दुई धर्मकाँटा राखिने बताइएको छ ।

केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपक्षीसम्बन्धी सम्पूर्ण उत्पादनको खरीद बिक्रीको व्यवस्था मिलाइनेछ । उत्पादित कृषिउपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ । बजार मूल्य वृद्धि हँदा किसानले आफैँ गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार सञ्जेलले बताउनुभयो । उहाँका अनुसार बजार, गोदाम, प्रशोधन केन्द्र सहकारीमा आधारित हुनेछन् ।

बजारमा पस्ने र निस्कने तीनवटा आधुनिक र स्मार्टद्वार रहनेछन् । बुटवलको तामनगरबाट पस्ने र सैनामैनाको वनकट्टाबाट निस्कने दुई लेनका सडक बनाइने छन् । केन्द्रदेखि बुटवलको चक्रपथ र सैनामैनाको चक्रपथसँग केन्द्रमा आउजाउ गर्ने सडकलाई जोडिने छ । उक्त सडक निर्माणका लागि रु ४२ करोड आवश्यक पर्ने बताइएको छ । डिपिआरलगत्तै चालू आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिने छ । उक्त काम छ महिनाभित्र सकी चालू आर्थिक वर्षमै निर्माण प्रक्रिया थाल्ने योजना रहेको प्रमुख सञ्जेलले बताए ।

डिपिआरसँगै पाँच वर्षमा निर्माण सक्ने गरी पञ्चवर्षीय गुरुयोजनासमेत निर्माण गरिएको छ । यसमा सङ्घीय सरकार, प्रदेश र स्थानीय तहले लगानी गर्ने प्रस्ताव गरिएको छ । केही समयअघि भएको लगानी सम्मेलनमा नेदरल्याण्ड सरकारले कृषि क्षेत्रमा रु १६ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो ।

सैनामैनाका प्रमुख कार्कीले किसानले लागतअनुसारको मूल्य लिन र उपभोक्ताले सुलभ मूल्यमा कृषिउपज खरीद गर्न पनि पाउनुका साथै एग्रो टुरिज्मको समेत प्रवद्र्धन हुने विश्वास गरिएको बताए । बुटवल उपमहानगरका प्रवक्ता तथा केन्द्र बन्ने वडाका अध्यक्ष रामप्रसाद रेग्मीले नमूना कृषिउपज केन्द्रको निर्माणले यसक्षेत्रको मुहार फेरिने बताए । रासस

Advertisement

Advertisement

Advertisement