राष्ट्र बैंकमा दुई डेपुटीको घमासान !

Advertisement

काठमाडौं । गभर्नरको हटसिट हात पार्न सबै शक्ति खर्च गरिरहेका नेपाल राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नरबीच घमासान सुरु भएको छ । कायम मुकायमको जिम्मेवारी पाउँदै आएका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र अर्का डेपुटी शिवराज श्रेष्ठबीच घमासान सुरु भएको हो ।

राष्ट्र बैंक श्रोतका अनुसार चिन्तामणी शिवाकोटीले आफु गभर्नर पक्का भएको बताउने गरेका छन् । तर अर्का डेपुटी श्रेष्ठले पनि आफ्नो सम्भावना बढ्दै गएको बताउन थालेका छन् । चिन्तामणी शिवाकोटीलाई झापाली ओत र पूर्व एमाले हुनुको लाभ छ । उनी सोही आधारमा पनि गभर्नर बन्ने बताईरहेका छन् ।

तर शिवराज श्रेष्ठले आफु जुन ढंगले डेपुटी बनेको हो सोही बाटोबाट गभर्नर बन्ने बताउन थालेका छन् ।  श्रेष्ठको प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यसँग निकटको सम्बन्ध छ । उनीहरु सँगै पढेका क्लासमेट नै हुन् । डेपुटी गभर्नर बन्ने समयमा पनि ओली नै प्रधानमन्त्री थिए ।
गभर्नर चिरञ्जीवी नेपालले शिवनाथ पाण्डेलाई काँग्रेस कोटाबाट गभर्नर बनाउन चाहेका थिए ।

तर श्रेष्ठले प्रधानमन्त्री पत्नी राधिका मार्फत श्रेष्ठलाई काँग्रेस कोटामा डेपुटी गभर्नर बनाएकी थिइन् । यसपाली पनि ओली नै प्रधानमन्त्री रहेको र ओलीलाई कन्भिन्स गराउन शाक्य काफी हुने उनको बुझाई रहेको राष्ट्र बैंक श्रोत बताउँछ । त्यसका अलवा श्रेष्ठले नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मार्फत पनि भेटघाट र लबिङलाई तिब्रता दिईरहेका छन् ।

शिवाकोटीले भने झापाली ब्राण्ड नै आफ्ना लागि गभर्नर बन्न पर्याप्त रहेको बताउने गरेका छन् । त्यसो त उनी पूर्व एमालेका बलिया सिपाही पनि हुन् । विद्यार्थी कालमा शिवाकोटी अनेरास्ववियुको कार्यकर्ता रहेको बताइन्छ । आफ्ना खास मान्छेहरुसँग उनी आफैंले पनि विद्यार्थी कालमा अनेरास्ववियुमा आवद्ध भएर ढुंगामुढा हानेको कथा सुनाउने गरेका छन् ।

दुबै डेपुटीहरु गभर्नरका लागि लबिङमा लागेपछि आपसी सम्बन्ध भने औपचारिकमा सिमित भएको राष्ट्र बैंक श्रोत बताउँछ । ‘दुबै जना शक्ति केन्द्र धाईरहेको सुनेका छौं, उहाँहरुबीच सधै राम्रो सम्बन्ध थियो, तर एउटै पदका लागि संघर्ष गर्नुपरेपछि अलिअलि गाह्रो त परिहाल्छ नी’, राष्ट्र बैंकका एक कर्मचारीले भने ।

यतिसम्मका शिवाकोटी र श्रेष्ठका निकटहरुले पनि एक अर्कालाई घोचपेच गर्न सुरु गरेका दृश्य राष्ट्र बैंकमा देख्न पाइने श्रोत बताउँछ । सबै जसो कर्मचारी संगठनका अनौपचारिक भेला र छलफलमा दुई डेपुटीको घमासानबारे चर्चा हुने गरेको छ । यस्तै गतिबिधी निरन्तर रहेमा दुई डेपुटीबीच बोलचाल नै बन्द हुने अवस्था आउँछ भन्दै कर्मचारीहरुबीच टिप्पणी हुन थालेको पनि श्रोत बताउँछ ।

Advertisement

Advertisement

Advertisement