एउटै ट्याक्टरः भारतमा ४४.३५ हर्सपावर, नेपालमा ४८ हर्सपावर, संगठितरुपमा उपभोक्ता ठगिँदै

Advertisement

काठमाडौं । भारतमा उत्पादित स्वराज ब्राण्डको ७४४ एफई मोडलको ट्याक्टर भारत र नेपालमा फरक फरक क्षमतामा बिक्री गर्दै उपभोक्ता ठग्ने काम भइरहेको तथ्य फेला परेको छ ।

उक्त मोडलको ट्याक्टर भारत उत्तर प्रदेशको यातायात व्यवस्थापन कार्यालय सितापुरले ४४.३५ हर्सपावरमा बिक्री गर्दै आएको छ भने नेपालको नारायणी यातायात कार्यालय बीरगञ्जले ४८ हर्सपावरमा बिक्री गर्दै आएको छ ।

नेपालमा स्वराज ट्राक्टर ओमिनी अटोमोवाइल प्रालिले स्वराज ब्राण्डका ट्राक्टरहरु बिक्री गर्दै आएको छ । आधिकारिक बिक्रेतादेखि यातायात कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा फरक क्षमतामा ट्राक्टरहरु बिक्री गर्दै उपभोक्ता ठगी गर्ने काम भइरहेको कागजाजबाट देखिन्छ ।

कागजाजअनुसार उत्तर प्रदेशको यातायात कार्यालयले ७४४ एफई मोडलको ट्राक्टरको ४४.३५ हर्सपावर भनी रजिष्ट्रेशन सर्टिफिकेट दिँदै आएको छ भने सोही ट्राक्टरको क्षमता ४८ हर्सपावर भन्दै बिक्री गर्न अनुमति दिने गरेको छ ।

यस विषयमा नारायाणी यातायात कार्यालयका प्राविधिक तथा अन्य अधिकृतहरु स्पष्ट कुरा बताउन चाहाँदैनन् । यसमा नेपालको बिक्रेता कम्पनीका सञ्चालक, भन्सारका कर्मचारी र यातायात कार्यालयका कर्मचारी ट्राक्टर भित्राउने प्रक्रियादेखि बिक्री गर्ने कुरासम्म संगठितरुपमा काम गरिरहेको देखिन्छ ।

उल्लेखित मोडलको स्वराज ट्राक्टरको आयातका क्रममा जारी प्रज्ञापनपत्र हेर्दा मोडल नम्बर उल्लेख गरिए पनि हर्सपावर उल्लेख भएको छैन् । यातायातका कर्मचारीहरु नेपालमा हर्सपावर जाँच गर्ने यन्त्र नै नभएको भन्दै तर्किए । तर यातायात कार्यालयको क्याटलगमा उक्त मोडलको ट्राक्टरको क्षमता ४८ हर्सपावर भनेर लेखेर राखिएको छ । कार्यालयले बिना आधारमा ७४४ एफई मोडलको ट्राक्टरको क्षमता ४८ हर्सपावर भनेर लेखेको देखिन्छ । क्षमता बढि देखाउँदा उपभोक्तालाई ठूलो थप आर्थिक आर्थिक भारत पर्दछ ।

Advertisement

Advertisement

Advertisement