निजी क्षेत्रसँगको बजार प्रतिस्पर्धामा समस्या आएपछि गैँडा छाप सिमेन्टले मुल्य घटायो

Advertisement

उदयपुर । निजी क्षेत्रसँगको बजार प्रतिस्पर्धामा समस्या आएपछि देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगले सिमेन्टको मूल्य प्रतिवोरा २८ रुपियाँ २५ पैसा घटाएको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो उत्पादित गैँडा छाप सिमेन्टको मूल्य कात्तिक १५ गतेदेखि लागु हुने गरी घटाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार गैडाछाप सिमेन्ट अव बजारमा भ्याटससहित प्रतिवोरा सात सय ७५ रुपियाँ १८ पैसामा पाईने छ ।

यसअघि गैडाछाप सिमेन्टको बजार मुल्य आठ सय तीन रुपियाँ ४३ पैसा रहेको थियो । त्यसमध्ये विक्रेता (डिलर)लाई उद्योगले प्रतिवोर २५ रुपियाँ वोनस दिँदै आएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताएका छन् । उनले डिलरले पाउने २५ रुपैँया वोनस सर्वसाधरणले पाउने गरी मुल्य घटाइएको बताए ।

‘खासमा मुल्य घटाएकोभन्दा पनि मुल्य समायोजना गरिएको हो, महाप्रबन्धक साहले भने, ‘हिजो डिलरलाई वोनस दिएका थियौ, आज सिधै उपभोक्तालाई सहुलियत दिएका हौ । ‘गुणस्तर प्राप्त, उत्कृष्ट सिमेण्ट उपभोक्ताले प्रयोग गरुन भन्ने हेतुले मुल्य समायोजन गरिएको हो, आशा छ यसबाट उपभोक्तालाई सहुलियत पुग्नेछ ।’

उद्योग सञ्चालक समितिका अध्यक्ष अंक्रुर खड्काले देशभर सिमेन्टको मूल्य घटेको वेला उदयपुर सिमेन्टको पनि मूल्य घटाएको बताए । ‘सबै प्रकारका सिमेन्टको मूल्य घटेको छ, उनले भने, ‘निजी क्षेत्रसँग बजार प्रतिसपर्धा गर्न मुल्य घटाएका हौ ।’

पूर्णरूपमा सरकारी स्वामित्व रहेको उसिउलीले पछिल्लो समय दैनिक उत्पादनलाई लक्ष्यअनुसार पछ्याएपनि मुल्य समायोजन नगर्दा विक्रीमा कमी आएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले बताएका छन् । ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योग पछिल्लो समय ७ सय बढि मेट्रिक टन अर्थात १४ हजार वोरा सिमेण्ट उत्पादन गर्दै आएको उनले बताए ।

मूल्य घटेसँगै शुक्रबार मात्र ७ हजार बोरा सिमेण्ट विक्री भएको जिसीले बताए । ‘यसअघि दैनिक पाँच देखि ६ हजार वोरा विक्री हुँदै आएको थियो, उनले भने, ‘मुल्य घटेसँगै ह्वात्तै विक्री बढेको छ ।’ यसअघि उद्योग सञ्चालक समितिको बैठकले भदौ २२ गते वजार पर्वद्धनमा सहज होस भन्ने हेतुले २५ रुपियाँ डिलरलाई वोनस दिने व्यवस्था गरेको थियो ।

डिलरलाई छुट दिएसँगै बजार मूल्य फरक–फरक भएको भन्दै उभोक्ताबाट गुनासो आएपछि उद्योगले बजार मूल्यमा एकरुपता कायम गर्दै उपभोक्तालाई सहुलियत दिने गरी यस्तो निर्णय गरेको जिसीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement