राष्ट्र बैंकमा महरा काण्डः दुबै डेपुटीको गभर्नर बन्ने च्याप्टर क्लोज ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकमा यतिबेला डेपुटी गभर्नर शिबराज श्रेष्ठ प्रकरणलाई महरा काण्डको उपनाम दिन थालिएको छ । गर्भनरको रेसमा अग्रपंक्तिमा रहेका श्रेष्ठमाथी मन्त्रिपरिषद बैठकले नै छानबिन गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएपछि सोमबार उनीमाथी छानबिन गर्न समिति गठन भएको छ ।

छानविन समिति बनेसँगै श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् । सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण सदस्य छन् । उनीहरुले एक महिनाभित्र छानविन प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएका छन् ।

सोही छानबिन समितिको प्रतिवेदनका आधारमा श्रेष्ठलाई सफाई दिने वा कारवाही गर्ने भन्ने निचोड निस्कनेछ । तर पनि गभर्नरको रेसबाट भने श्रेष्ठ अब आउट भएका छन् । उनीमाथी एनसेल लाभांश प्रकरण, विवादस्पद व्यवसायी अजेयराज सुमार्गीको पैसा भित्र्याउने प्रकरण, सम्पति सुद्धिकरणमा सघाएको, बैंक तथा वित्तिय संस्थाहरुको सुशासन कायम नगराउन भूमिका खेलेको लगायतका संघीन आरोप लागेका छन् ।

श्रेष्ठले भने आफुलाई फसाउन ठुलै डिजाइन भएको बताएका छन् । आफुलाई गभर्नर बन्नबाट रोक्न त्यस्तो आरोप लगाईएको उनको निष्कर्ष छ । अर्का डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र श्रेष्ठका बीचमा पछिल्लो समय गभर्नरको रेसलाई लिएर केहि असहमति थियो । श्रेष्ठ काँग्रेस कोटामा डेपुटी बनेका थिए भने शिवाकोटी एमाले कोटामा ।

तर श्रेष्ठलाई प्रधानमन्त्री पत्नी राधिका शाक्यले डेपुटी बनाएको चर्चा थियो । गभर्नर बन्न पनि श्रेष्ठले सोही अस्त्र प्रयोग गरिरहेका थिए । त्यसका अलवा पुर्व माओवादी नेता तथा नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसँग पनि शिबराज श्रेष्ठले गभर्नरका लागि लबिङ गरिरहेका थिए ।

दुई डेपुटीको घमासानका बीच राष्ट्र बैंकभित्रै अब कुनै ठुलो काण्ड मच्चिने चर्चा सुरु भैसकेको थियो । दुबै डेपुटीले आफुलाई सुरक्षित राख्दै अर्कालाई कमजोर देखाउने प्रयास थालेको चर्चा थियो । त्यहिबीचमा श्रेष्ठ प्रकरण बाहिरीएपछि अब शिवाकोटीलाई ठुलै धक्का लाग्ने चर्चा राष्ट्र बैंकमा छ ।

अब के होला ?
एक जना डेपुटी गभर्नर रेसबाट आउट भएपछि अर्का डेपुटीका कमजोरीहरुको फेहरिस्ता तयार गर्ने काम सुरु भएको श्रोत बताउँछ । ‘कोहि सुरक्षित हुने नाममा अर्काेलाई समाप्त पार्ने खेल सुरु भयो, यसले दुबै जना डेपुटीलाई नोक्सान गरेको छ, अब अरु कोहि बाहिरको मान्छे गभर्नर बन्ने सम्भावना बढेको छ’, श्रोतले भन्यो । यद्यपी डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने श्रेष्ठ प्रकरणमा आफुलाई मुछ्नु दुर्भाग्यपूर्ण भएको बताए ।

‘यो प्रकरणमा मेरो कुनै भूमिका छैन्, मन्त्रिपरिषदले नै निर्णय गरेको पठाएको हो, म माथी पनि संका छ भने छानबिन गर्दा हुन्छ, कमजोरी गरेको रहेछु भने कारवाही भोग्न तयार छु’, डेपुटी गभर्नर शिवाकोटीले भने ।

यहिबिचमा अर्काे रोचक प्रशंग बाहिरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नै श्रेष्ठमाथी छानबिन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका बताइन्छ । एउटा डेपुटीलाई छानबिनको तरबार तेर्याएर अर्काे डेपुटीलाई पनि तर्साउने अनि तेश्रो व्यक्तिलाई गभर्नर बनाउने योजनासहित श्रेष्ठ प्रकरण अघि आएको मान्नेहरु पनि छन् । ‘अर्थमन्त्रीज्यरु दुबै डेपुटीलाई रुचाउनुहुन्न, उहाँ तेश्रो व्यक्तिलाई गभर्नर बनाउने बाटो खुलाउन यस्तो गर्नु भएको हुन सक्छ’, श्रोतले भन्यो ।

श्रेष्ठ प्रकरणबाट शिवाकोटी समेत जोखिममा परेका छन् । राष्ट्र बैंकमा एक जना डेपुटी कुनै काण्डमा मुछिँदा अर्का डेपुटी र गभर्नर जोगिन नसक्ने अवस्था रहेको जानकारहरु बताउँछन् । त्यस्तो अवस्थामा शिवाकोटीले आफुलाई पनि असुरक्षित महशुस गर्न थालेको बताइन्छ ।

तेश्रो पक्षलाई लाभ
गभर्नरको रेसमा रहेको एक जना डेपुटी निलम्बनमा परेका छन् भने अर्का डेपटी त्रासमा छन् । यस्तो अवस्थामा गभर्नरको दौडमा रहेका महाप्रसाद अधिकारी, अर्थसचिव डा. राजन खनाल, बासुदेव अधिकारीलाई भने लाभ हुने बताइन्छ ।

Advertisement

Advertisement

Advertisement