निलम्बित सांसद आलमविरुद्ध आज मुद्दा दर्ता हुँदै

Advertisement

रौतहट । बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएर हत्या गरेको घटनाका अभियुक्त मोहम्मद आफताव आलमलाई सर्वस्वसहित जन्मकैदको मागदाबीसहित आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरिंदैछ।

आलममाथि जन्मकैदको अभियोगपत्रसहितको फाइल जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ। प्रहरीको सोही रायका आधारमा सरकारी वकिल कार्यालयले आज दिउँसो मुद्दा दर्ता गर्दैछ।

प्रहरीले आलम विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थसम्बन्धी तीन मुद्दामा अभियुक्त बनाएको छ। अनुसन्धानबाट बम बिस्फोट र हत्यामा आलम दोषी देखिएपछि उनलाई जन्मकैद माग दाबी गरिएको प्रहरी स्रोतले जनाएको छ। जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर प्रहरीले अनुसन्धान गरेको थियो।

बमकाण्डमा आलमसहित ११ जनालाई अभियुक्त बनाइएको छ।

पहिलो संविधानसभा निर्वाचनको वेला बुथ कब्जा गर्ने उद्देश्यले मतदानको अघिल्लो दिन २७ चैत २०६४ मा रौतहट-२ बाट नेपाली कांग्रेसका उम्मेदवार आलमकै निर्देशनमा बम बनाउने क्रममा विस्फोट भएको थियो। घटनापछि राज्यशक्तिको दुरुपयोग गर्दै उनले प्रमाणहरू नष्ट गरेको स्थानीयवासी तथा विस्फोटमा ज्यान गुमाउनेका पीडित परिवार बताउँछन्।

सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले गत २६ असोजमा बमकाण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो।

Advertisement

Advertisement

Advertisement