तीन महीनामा साढे २१ अर्ब बीमाशुल्क संकलन

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन ४१ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा १५ अर्ब २५ करोड ९२ लाख बीमाशुल्क संकलन गरेका बीमा कम्पनीहरूले चालू आवको सोही अवधिमा २१ अर्ब २५ करोड बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिबाट प्राप्त तथ्यांक अनुसार बीमाशुल्क संकलनमा बजारको सबैभन्दा बढी अंश नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले ओगटेको छ । बीमाशुल्क संकलनको आधारमा नेपाल लाइफले बजारको ३७ प्रतिशत अंश ओगटेको छ भने एलआईसी नेपालले २० प्रतिशत, नेशनल लाइफले ९ प्रतिशत र मेट लाइफले ६ प्रतिशत अंश ओगटेको देखिन्छ । नेपालका १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, मेट लाइफ र राष्ट्रिय बीमा संस्थान छन् ।

समीक्षा अवधिमा नेपाल लाइफले सात अर्ब ८९ करोड बीमाशुल्क संकलन गरेको छ ।  एलआईसी नेपालले ४ अर्ब २० करोड, नेशलल लाइफले एक अर्ब ८९ करोड, मेट लाइफले एक अर्ब २१ करोड र राष्ट्रिय बीमा संस्थानले एक अर्ब एक करोड बीमाशुल्क संकलन गरेका छन् । तथ्यांक अनुसार जीवन बीमा व्यवसायको वृद्धि उत्साहजनक देखिन्छ । पछिल्लो २ वर्षमा १० जीवन बीमा कम्पनी थपिएपछि बजारमा प्रतिस्पर्धा बढेको छ । साथै, कम्पनीहरूले जोखिम वहनसँगै रकम पनि बचत हुने खालका बीमा पोलिसी ल्याएका छन् । यस्ता कारणले जीवनको व्यवसाय बढेको समितिको विश्लेषण छ ।

यसका अलावा बीमा समितिले पनि निरीक्षण, नियमन, सुपरिवेक्षणलाई सक्रिय बनाउँदै नीतिगत सुधारमा जोड दिँदै आएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘अहिले कम्पनीको शाखा पनि सबै जिल्लामा पुगेको छ । समितिले पनि स्थानीय तहमा बीमासम्बन्धी अन्तरक्रिया गर्दै आएको छ । यस्ता कारणले आम मानिसमा जीवन बीमाबारे जागरण आउन थालेको छ, त्यसको फलस्वरूप यसको व्यवसाय बढेको हो ।’

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले पछिल्लो समय आम मानिसमा बीमासम्बन्धी सचेतना आउन थालेको बताए । उनले भने, ‘आम मानिसले आफै बीमासम्बन्धी बुझ्दै आएको देखिन्छ । यी यस्ता कारणले हामीलाई व्यवसाय बढाउन सहज भएको छ ।

पछिल्लो समय आएका १० नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा युनियन लाइफ इन्स्यारेन्स रहेको छ । उक्त कम्पनीले ३ महीनामा ७९ करोड बीमाशुल्क संकलन गरेको छ । तथ्यांक अनुसार नयाँ कम्पनीहरूले मात्र यस अवधिमा दुई अर्ब ७६ करोड बीमाशुल्क संकलन गरेका छन् । (आर्थिक अभियान राष्ट्रिय दैनिकबाट)

Advertisement

Advertisement

Advertisement